भण्टाबारी। भारतबाट ल्याइने पेट्रोलियम पदार्थ भारततिरै तस्करी भइरहेकोे पाइएको छ ।
भारतमा भन्दा नेपालमा सस्तोमा पाइने भएकाले सुनसरीका दक्षिणवर्ती नाका हुँदै पेट्रोलियम पदार्थ भारततिरै तस्करी भइरहेको हो । जिल्लाका विभिन्न सीमानाकाबाट आएको भनिएको पेट्रोलियम पदार्थको तस्करी रोक्न लागिपरेको सुरक्षा निकायका उच्चपदस्थ अधिकृतले बताउने गरेका छन् ।
यद्यपि स्थानीय प्रशासन र नेपाल आयल निगमको सक्रियताका बावजुद डिजेल र पेट्रोल तस्करी हुने क्रम रोकिएको छैन । भारतमा भन्दा कम मूल्यमा पाइने भएकोले जिल्लाका विभिन्न सीमावर्ती नाका हुँदै भारततिर इन्धन तस्करी हुने गरेको स्थानीय बताउँछन् । नेपालमा भन्दा भारतमा पेट्रोल ३० देखि ३५ रुपैयाँ र डिजेल ४० रुपैयाँसम्म महँगो हुँदा सीमावर्ती क्षेत्रबाट इन्धन भारततर्फ तस्करी हुने गरेको पाइन्छ ।
सुनसरीको देवानगञ्ज क्षेत्रमा सञ्चालित दुईवटा पेट्रोल पम्पले भारततर्फ पेट्रोलियम पदार्थ तस्करी गराएको पाइएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले गरेको पत्राचार अनुसार ती पम्पहरूमा १० दिनसम्म पेट्रोलियम पदार्थ बिक्रीवितरणमा रोक लगाइएको थियो ।
देवानगञ्ज क्षेत्रमा सञ्चालनमा रहेका भगत आयल र गुप्ता आयल सेण्टरले पेट्रोल र डिजेल स्थानीयलाई नदिई भारततर्फ तस्करी गराउने गरेको पाइएपछि पेट्रोलियम पदार्थ बिक्रीवितरणमा रोक लगाइएको थियो ।
आइन्दा तस्करी नगराउने शर्तमा सोमबारबाट ती पम्पलाई तेल उपलब्ध गराउन थालिएको छ । तर, अझै पनि तेल लिन पम्पमा जाँदा सञ्चालकले स्थानीयलाई रित्तो हात फर्काउँदै तस्करलाई मात्र डिजेल र पेट्रोल दिने गरेको गुनासो आएको छ ।
देवानगञ्ज क्षेत्रका पम्प सञ्चालकहरूले स्थानीयको नाममा ल्याउने पेट्रोलियम पदार्थ ३ देखि ५ रुपैयाँँ प्रतिलिटर बढी लिई तस्करलाई दिने गरेको स्थानीय रोहित साहले गुनासो गरे । ‘पम्पमा तेल लिन जाँदा स्थानीयलाई छैन भनेर फर्काइन्छ’ उनले भने, ‘प्रायः बिहान र दिउँसो पम्प बन्द गरिएको पाइन्छ । अनि रातको समयमा तस्करलाई धमाधम तेल दिने गरेका छन् ।’
यता जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख एसपी कमल थापाले कतिपय सीमा नाका हुँदै भारततर्फ पेट्रोलियम पदार्थ तस्करी भइरहेको गुनासो आएकोले तस्करी रोक्न सक्रियताका साथ सुनसरी प्रहरी लागेको दाबी गरे ।
जनशक्ति अपुग रहे पनि खुला सीमाका कारण अवैधानिक रूपमा हुँदै आएको भनिएको चोरीपैठारी रोकथाम तथा नियन्त्रणमा सुनसरी प्रहरी सफल देखिएको उनको भनाइ छ । खासगरी सुनसरीको दक्षिणवर्ती सीमानाकाबाट इन्धन तस्करी भएको गुनासो आएको बताउँदै एसपी थापाले जिल्ला प्रहरी कार्यालय सुनसरीबाट विभिन्न समयमा खटिएका प्रहरी टोलीले ४ सय लिटरबढी इन्धन नियन्त्रणमा लिई भन्सार कार्यालयमा बुझाएको जानकारी दिए ।
खुला सीमाका कारण हुने इन्धन तस्करी रोक्न मातहतका प्रहरीलाई पम्पमा आएको तेलको रेकर्ड राख्न निर्देशन दिएको सुनसरी प्रहरीले जनाएको छ ।