विराटनगर। मोरङको धनपालथान गाउँपालिका–१ नोचाका रविन्द्रकुमार साहले विराटनगर–७ स्थित रारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा १० लाख रुपैयाँ वर्ष दिनको लागि मुद्दति खातामा (फिक्स डिपोजिट) राखेका छन् ।
उनले जम्मा गरेको रकम वर्ष दिन पूरा भएको छ । तर, रारा सहकारीले साहले राखेको फिक्स डिपोजिटको रकम अझसम्म पनि फिर्ता दिएको छैन । आफ्नो रकम फिर्ता दिन माग गर्दै उनी शनिमन्दिर रोडमा मुख्य कार्यालय रहेको सहकारीको कार्यालय दैनिक धाइरहेका छन् ।
‘फिक्स डिपोजिटको लागि जम्मा गरेको रकम वर्ष दिन पूरा भएपछि झिक्न सहकारी जाने गरेको छु । भोलि दिन्छु, पर्सि दिन्छु भन्दै सहकारीले आलटाल गर्दै आएको छ’ –साहले भने ।
सहकारीमा दैनिक गएर ताकेता गरेपछि उनलाई गरिमा विकास बैङ्कको ९ लाख ९० हजारको चेक दिइयो । तर, त्यो चेक साटिएन । उनले सो बैङ्कमा लगेको चेक ३ पटक बाउन्स भइसकेको छ । दुःख गरी कमाएर जम्मा गरेको त्यति ठूलो रकम बैङ्कले फिर्ता दिन नमानेका कारण आफ्नो बिचल्ली भएको उनको गुनासो छ ।
यसरी रारा सहकारीमा निक्षेपकर्ताले बचत गरेको रकम फिर्ता लिने साह मात्र होइनन्, दर्जनौं निक्षेपकर्ताहरू अहिले बचत गरेको रकम लिन सहकारीमा लर्को लाग्ने गरेका छन् । विराटनगर–८ मा किराना पसल सञ्चालन गरेका सन्तोष मण्डलले रारा सहकारीमा दैनिक ३ सय रुपैयाँको दरले बचत गर्दै आएका थिए । हालसम्म आएर सन्तोषले बचत गरेको रकम ५३ हजार बढी भएको छ ।
‘बचत गरेको रकम लिन सहकारी धाएको दुई महिना हुन लागिसक्यो’ उनले भने, ‘अहिलेसम्म सहकारीले बचत गरेको पैसा दिने कुनै छाँटकाँट देखाएको छैन । बचत गरेको पैसा लिन जाँदा भोलि आउनू भन्दै झुलाउने काम गरिरहेको छ ।’ दुई महिनासम्म धाउँदा सहकारीबाट २ हजार मात्र फिर्ता पाउन सकेको उनको भनाइ छ । ‘अरू पैसा पछि दिने भन्दै लाइनमा राखेको छ’ उनले भने, ‘कहिले पाइन्छ कुनै टुङ्गो छैन ।’
विराटनगर–९ की उषा घिमिरेले सो सहकारीबाट ६ लाख रुपैयाँ पाउनुपर्ने छ । व्यवसाय गर्ने उद्देश्यले आफूले रकम बचत गरे पनि अहिले आएर सहकारीले फिर्ता नदिँदा आफ्नो योजना चौपट भएको उनले बताइन् ।
‘आफूले खाई नखाई दुःख गरेर कमाएको रकम बचाएर सहकारीमा जम्मा गरेको थिएँ’ उनले भनिन्, ‘अहिले जम्मा गरेको रकम लिन आउँदा सहकारीले झुलाउने गरेको छ ।’ सहकारीले लगभग चार महिनादेखि बचतकर्ताको पैसा फिर्ता दिएको छैन ।
उक्त बचत तथा ऋण सहकारीले समयमा निक्षेप रकम फिर्ता तथा ब्याज नदिँदा निक्षेपकर्ता जोखिममा परेका हुन् । बजारमा गरेको लगानी लकडाउनका कारण उठ्न नसकेका कारण बचतकर्ताको रकम फिर्ता दिन समस्या भएको सहकारीका अध्यक्ष शेरबहादुर थापा मगरको भनाइ छ ।
‘बजारमा हामीले ऋण प्रवाह गरेका छौं । त्यो पैसा उठ्न बाँकी छ । कर्जा उठेपछि बचत गरेका सबै निक्षेपकर्ताहरूको रकम दिनेछौं’ अध्यक्ष मगरले भने, ‘तर, केही समय भने लाग्नेछ ।’ बजारमा सहकारीको लगानी १२ करोड बढी रहेको र ग्राहकलाई ७ करोड मात्र तिर्न बाँकी रहेको उनको भनाइ छ ।
आकर्षक ब्याज दिने भनेर आम सर्वसाधारणबाट रकम सङ्कलन गरेको रारा सहकारीले सङ्कलन गरेको अधिकांश रकम बिना धितो बजारमा ऋण प्रवाह गरेको कारण लगानी जोखिममा परेको बुझिएको छ । ०६९ सालमा स्थापना भएको उक्त सहकारीको कार्यक्षेत्र मोरङ जिल्लाभरि रहेको छ ।
जिल्ला सहकारी सङ्घ मोरङका अध्यक्ष डिल्ली पोखरेलले रारा सहकारीलाई बचतकर्ताले जम्मा गरेको रकम फिर्ता दिन निर्देशन दिएको बताए । ‘लकडाउनको कारणले निक्षेप सङ्कलन हुन नसकेको पाइयो । सहकारीले तरलता पर्याप्त राख्न सकेन । त्यही भएर समस्या परेको हो’ उनले भने, ‘समस्या समाधान गरिदिनेतिर हामीले पनि पहल गर्दै आएका छौं ।’