धरान–१७ मा स्थापित नेबुला फुड प्रोडक्सन प्रालिले पाँचौं वार्षिकोत्सवको क्रममा चारजना व्यवसायीलाई सम्मानित गरेको छ ।
प्रालिले नेबुलाका उत्पादन बिक्रीमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका चारजना व्यवसायीलाई शुक्रबार हरियाली सामुदायिक वनमा आयोजित कार्यक्रममा सम्मानित गरेको हो । प्रालिले लपूजन राई, शैलेस श्रेष्ठ, अर्जुनकुमार जैसवाल र विनिता थापालाई सम्मान–पत्रसहित मायाको चिनो दिएर सम्मानित गरेको हो ।
त्यस्तै प्रालिमा कार्यरत कर्मचारी तथा बजारका प्रतिनिधिलाई पनि मायाको चिनो प्रदान गर्दै प्रोत्साहन गरिएको कार्यक्रमका सभापति समोजकुमार खत्रीले जानकारी दिए ।
कार्यक्रममा धरान–१७ का वडाध्यक्ष सूर्यकुमार भट्टराई, पूर्वक्षितिज प्रकाशन प्रालिका प्रबन्ध निर्देशक तथा सम्पादक किशोरकुमार कार्की, इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेत, सुनसरी उद्योग वाणिज्य सङ्घका प्रथम अध्यक्ष शिवराज श्रेष्ठलगायतले व्यवसायी तथा कर्मचारीलाई सम्मान–पत्र प्रदान गरे ।
उनीहरूले नेपाली उत्पादन पनि विश्व बजारमा स्थापित भइरहेकोमा धन्यवाद ज्ञापन गरे । अहिले नेबुलाको उत्पादन विश्व बजारमा पनि पुग्ने गरेको छ । गुणस्तरीयतालाई ध्यान दिएका कारण छोटो अवधिमै बजारमा प्रभाव जमाउन सफल भएको कार्यक्रमका सभापति एवम् लगानीकर्ता खत्रीले बताए ।
नेबुलाले मासुबाट निर्मित खाद्य सामग्री बिक्री गर्दै आएको छ । पछिल्लो समय दर्जनभन्दा बढी उत्पादनहरू गर्दै आएको छ । लगानीकर्ता खत्री खाद्यविज्ञसमेत हुन् । नेबुलामा चिकेन ससेज, चिकेन बल, फिस ससेज, फिस बल, सुकुटीको अचारलगायतका सामग्री उत्पादन हुँदै आएको छ । कार्यक्रमको सञ्चालन प्रालिका कर परामर्शदाता पुण्यप्रसाद गौतमले गरेका थिए ।