कृषि व्यवसाय प्रवर्धन गर्ने तथा कृषकलाई व्यावसायिक बनाउने उद्देश्यले झापाको बिर्तामोड–४ स्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्था शिक्षा उपसमितिले ३ दिने तालिम शनिबारदेखि सुरु गरेको छ । 

संस्थाले उन्नत जातका बाख्रा तथा व्यावसायिक मौरी पालनसम्बन्धि सीपमुलक तालिम प्रदान गर्नेछ । तालिममा संस्थाका ७० जना सदस्यहरुको सहभागिता छ । 

प्रगति बोयर बाख्रा पालन फर्मका सञ्चालक गणेश पराजुलीले उन्नत जातका बाख्रा सम्बन्धि तालिमको सहजीकरण गरेको संस्थाका तालिम विभाग प्रमुख विजय बस्नेतले जानकारी दिए । 

संस्थाको दोस्रो वार्षिक कार्यक्रमअन्तर्गत तालिम आयोजना गरिएको अध्यक्ष सुवास भट्टराईले बताए । 

संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले कार्यक्रमको औचित्य तथा उद्देश्यमाथि प्रकाश पारेका थिए । कार्यक्रममा संस्थाका सल्लाहकार समिति संयोजक हरिप्रसाद कडरिया, विज्ञ घनश्याम न्यौपाने, खेमराज ढकाललगायतले शुभकामना मन्तव्य राखे । 

संस्थाका शिक्षा उपसमिति संयोजक मेहरमान विष्टको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा उपसमिति सदस्य मदन रिजालले स्वागत गरेका थिए ।