नेपाल कुखुरा पालक किसान संघले सरकारले बढाएको दाना र चल्लाको मूल्यवृद्धि फिर्ता लिन माग राखेको छ ।
दानाको मूल्य वृद्धि र चल्ला तथा चल्ला उत्पादन लागत मूल्यभन्दा ११० प्रतिशत अधिकृत मूल्य वृद्धि गरेको भन्दै फिर्ताको माग गरेको हो ।
संघका अध्यक्ष झनकप्रसाद पौडेलले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै अहिलेकै अवस्था रहिरहने हो भने सम्पूर्ण साना किसानले पेशाबाट हात धुनुपर्ने बाध्यता आइलाग्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।
‘हालको अवस्थामा यो व्यवसाय अत्यन्तै संकटको अवस्थामा परेको छ, प्रति चल्ला उत्पादन लागत मूल्यभन्दा ११० प्रतिशत अधिकतम मूल्य वृद्धि छ, गुणस्तरहीन चल्ला उत्पादनको कारण किसानहरु मर्कामा परेका छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘बजारमा उत्पादक र उपभोक्ताको हितविपरीत विचौलियाहरुको बिगबिगीको कारण पनि किसानहरुले अपूरणीय घाटा व्यहोर्नु परेको छ । यही अवस्था रहिरहने हो भने सम्पूर्ण साना किसानहरुले यो पेशाबाट हात धुनुपर्ने बाध्यता छ ।’
अहिलेको अवस्थामा सरकारले उल्टै विदेशी लगानी भित्र्याई साना किसान उद्यमीहरु मास्ने नीति ल्याएको भन्दै त्यसप्रति भर्त्सना गरेको छ ।
‘पोल्ट्री क्षेत्रका सरोकारवाला एवम् राज्यका सम्बन्धित सरोकारवालाले तत्कालै आवश्यक कदम चालेर यसको समाधान गरिएन भने हामी देशभरि छरिएर रहेका लाखौं किसानप्रेमीहरु सडक आन्दोलन गर्न बाध्य हुनेछौं ।’ विज्ञप्तिमा भनिएको छ ।
संघले किसानप्रेमी सबैलाई आआफ्नो पायक पर्ने जिल्ला, क्षेत्र, स्थानीय तहमा आन्दोलनको तयारीमा रहन पनि अनुरोध गरेको छ ।