बेलबारी। सुन्दरहरैंचाका युवाले उद्यम गर्न चाहेमा २ लाखदेखि १५ लाख रुपैयाँसम्म नेपाल बङ्गलादेशबाट ४ प्रतिशत ब्याजदरमा कर्जा पाउने भएका छन् ।
नगरप्रमुख शिवप्रसाद ढकालको कार्यकक्षमा नगरपालिकाको तर्फबाट नगरप्रमुख ढकाल र बैङ्कको तर्फबाट प्रदेश प्रमुख कृष्णप्रसाद तिम्सिनाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतापत्रमा हस्ताक्षर गर्नुअघि नगरप्रमुख ढकाल र बैङ्कका प्रदेश प्रमुख तिम्सिनाले सहुलियतपूर्ण कर्जाको बारेमा जानकारी गराएका थिए ।
सो ऋण पाउनका लागि निवेदकले वडामा निवेदन दिएपछि वडाले नगरपालिकालाई सिफारिस गरेपछि त्यसकै आधारमा नगरले बैङ्कसँग ऋण प्रदान गर्न सिफारिस गर्ने सम्झौता भएको नगरप्रमुख ढकालले बताए । लिइएको ऋण खराब कर्जामा परिणत भए नगरले सो कर्जा उठाउन पहल गर्ने र राज्यले दिने सबै सेवा र सुविधाबाट बञ्चित पनि गर्न सक्ने उनले जानकारी दिए ।
बैङ्कका प्रदेश प्रमुख तिम्सिनाले बैङ्किङ पहुँच कम भएकाहरूको लागि यो व्यवस्था गरिएको बताए । त्यस्तै शिक्षित युवा स्वरोजगार शीर्षकमा अधिकतम ७ लाख रुपैयाँसम्म ऋण प्रदान गर्ने उनले जानकारी दिए । विदेशबाट फर्किएका युवा, दलित युवा, स्वरोजगार बन्न चाहने युवा र उद्यमी बन्न चाहने महिलाका लागि यो योजना ल्याइएको उनले जानकारी दिए ।
बैङ्कको विराटचोक शाखाका प्रमुख सुजन तिम्सिनाले अडिट रिपोर्ट, प्रोजेक्ट रिपोर्टलगायतका अन्य कागजपत्र नचाहिने र आवश्यक प्रक्रिया पूरा गर्न सहज हुनुका साथै ब्याजदर कम भएकाले यो कर्जाबाट धेरै जना उद्यमी, व्यवसायी वा स्वरोजगार बन्न सक्ने उनको भनाइ छ ।
बैङ्कको आधार दरमा १ प्रतिशत थप गरी अधिकतम ब्याजदरको सीमा निर्धारण गरिए पनि बङ्गलादेशले आधार दरको ५० प्रतिशत कम ब्याजदरमा नै ऋण दिन लागेको नगरप्रमुख ढकालले बताए । पुरुषका लागि अधिकतम ४ प्रतिशत र महिलाका लागि अधिकतम ३ प्रतिशत ब्याजदरमा ऋण दिने गरी बैङ्कसँग सहमति भएको उनले बताए ।
समझदारी पत्रमा हस्ताक्षर भएको मितिबाट २ वर्षसम्म कायम रहने भए पनि पहिलो पहिलो पक्ष अर्थात् नगरपालिकाको दायित्व कर्जा बहाल रहेसम्म रहने प्रदेश प्रमुख तिम्सिनाले बताए । समझदारी अवधि समाप्तिपछि दुवै पक्षको आपसी सहमतिमा नवीकरण गर्न पनि सकिने सम्झौता पत्रमा उल्लेख छ ।