वैदेशिक रोजगार विभागले मेनपावर कम्पनीको शाखा सञ्चालन गर्न अनुमति दिनु पर्ने व्यवसायीले माग गरेका छन् ।
वर्षौदेखि वैदेशिक रोजगारीको क्षेत्रमा काम गर्दै आएका व्यवसायीले अनुगमन गर्नुपूर्व शाखा दिनु पर्ने विभागसँग माग गरेका हुन् । विभागको नियमानुसार कार्य सम्पादन गर्न तयार रहेको उनीहरुको भनाइ छ । तर, विभागले पनि वैधानिक भएर काम गर्ने वातावरण बनाउनु पर्ने व्यवसायीको माग छ ।
वैदेशिक रोजगार व्यवसायी संघ झापाका अध्यक्ष धनबहादुर पन्धाकले विभागको नियमन गर्ने परिपाटी ठीक भएको जिकिर गरे । ‘वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न व्यवसायी तयार रहेका छन्’ अध्यक्ष पन्धाकले भने ‘त्यो वातावरण बनाउन विभागले शाखाको अनुमति दिनुपर्छ ।’ उनले शाखाको क्षेत्राधिकार तय गरेर छिटो भन्दा छिटो शाखा दिनु पर्ने बताए । वैदेशिक रोजगारीमा भएको विकृति, ठगीलाई नियन्त्रण गर्न पनि शाखा सञ्चालन गर्ने अनुमति दिन आवश्यक रहेको उनको भनाइ छ । शाखा नदिंदा अनुगमनको कुनै तुक नरहेको उनले बताए ।
झापामा १३ वटा वैधानिक शाखा छन् । त्यो सँगै ४ दर्जनभन्दा बढी अवैधानिक मेनपावरका कार्यालय छन् । अवैधानिक रुपमा सञ्चालन मेनपावरले विभागबाट अनुगमनमा टोली आएको खवर पाउनसाथ साइनबोर्ड लुकाएर मुकदर्शक बन्ने अवस्था रहेको उनले बताए । कानुन पालना गर्छु भन्दा पनि शाखाको अनुमतिमा चाबी लगाउनुले वैदेशिक रोजगारीमा जाने कामदार ठगिने क्रम बढेको अध्यक्ष पन्धाकको बुझाइ छ ।
१५ वर्षदेखि वैदेशिक रोजगारका लागि कामदार पठाउँदै आएका बिर्तामोडका मेनपावर व्यवसायी केदार ढुङ्गाना र ६ वर्षदेखि कामदार पठाउँदै आएका नरप्रसाद दंगालले विभागले शाखा सञ्चालन गर्ने अनुमति दिनु पर्ने बताए । ‘मेनपावर व्यवसायलाई सिस्टममा ल्याउन पनि शाखा सञ्चालनको अनुमति दिनुपर्छ’ ढुङ्गानाले भने ‘अन्यथा वैदेशिक रोजगारीमा जाने कामदार ठगिने क्रम रोकिंदैन ।’ उनले विभागले चाँडो भन्दा चाँडो मेनपावरलाई शाखा सञ्चालनको मापदण्ड बनाएर शाखा दिनुपर्ने बताए । आधिकारिकता नभएका मेनपावरका कार्यालयले कामदार पठाउँदा कुनै समस्या भएर कामदार फर्किंदा उनीहरु ठगिने जोखिम हुने ढुङ्गानाले बताए ।
झापामा अनुगमनका क्रममा ४ वटा अभिमूखीकरण केन्द्र र ७–८ वटा जती मेनपावरका कार्यालय मात्र अनुगमन गरेको टोलीमा आएका वैदेशिक रोजगारका शाखा अधिकृत मात्रिका सापकोटाले बताए । शाखा दिने छलफल भइरहेको बताउँदै शाखा अधिकृत सापकोटाले भने ‘झापामा वैदेशिक रोजगारीमा एकदमै विकृति र ठगी भएको गुनासोको आधारमा विभागले अनुगमन गरेको हो ।’
विभागका निर्देशक (सूचना अधिकारी) टिकामणि नेउपानेले शाखा सञ्चालनको मापदण्ड तयार नै रहेको बताएका छन् । उनले मन्त्रालयले स्वीकृत दिएपछि शाखा सञ्चालनको लागि अनुमति दिन सकिने जानकारी दिए । मन्त्रालयले शाखा सञ्चालन गर्न स्वीकृति नदिंदा शाखा दिन अन्यौल भएको उनले बताए ।