विराटनगर। गत मङ्सिर २१ गते विराटनगर–९ कलेज रोडमा सञ्चालित विराट गोल्छा घ्यू प्याकेजिङ उद्योगले उत्पादन गरेको घ्यू गुणस्तरहीन भेटियो ।

विराटनगरस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको ल्यावमा गरिएको नमुना परीक्षणमा उक्त उद्योगको घ्यू गुणस्तरहीन भएको पुष्टि भएपछि दुई सय केजी घ्यू नष्ट गरियो । रमेशकुमार गोल्छा सञ्चालक रहेको उक्त घ्यू बजारमा सस्तो मूल्यमा बिक्री वितरण हुँदै आएको थियो । बजार मूल्यभन्दा सस्तोमा उपलब्ध घ्यूमा मिसावट रहेको पाइएको थियो । 

जिल्लास्थित संयुक्त बजार अनुगमन समितिले गत असोज ३० गते उद्योगको अनुगमन गरेर नमुना सङ्कलनपछि शिलबन्द गरेको थियो । प्रयोगशाला परीक्षणका क्रममा घ्यूमा मिसावट रहेको र गुणस्तरहीन भेटिएपछि खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालयले माघ १९ गते उद्योग सञ्चालक गोल्छाविरूद्ध मोरङ अदालतमा मुद्दा दायर गरेको छ । उक्त कार्यालयले न्यून गुणस्तरको घ्यू उत्पादन गर्ने विरूद्ध ५० हजार रुपैयाँ जरिबाना वा पाँच वर्षसम्म कैद वा दुवै सजायको मागदाबी राखी अदालतमा अभियोग दर्ता गरेको छ । उक्त मुद्दा अदालतमा विचाराधीन छ ।

यस्तै विराटनगर–९ स्थित बालाजी डेरी उद्योगले उत्पादन गरेको घ्यू न्यून गुणस्तरको उत्पादन भएको पुष्टि भयो र उक्त उद्योगका सञ्चालक विमलेशकुमार साह र बालाजी टे«डिङ एण्ड कन्सर्नका सञ्चालक रीता रानी साहविरूद्ध मोरङ अदालतमा अभियोग दर्ता भयो । मोरङ अदालतले केही दिनअगाडि उद्योग सञ्चालक विमलेशकुमारलाई २ लाख ५० हजार र ट्रेडिङका सञ्चालक रीता रानीलाई ५० हजार रुपैयाँ धरौटी तोकिदियो । उल्लेखित घटना प्रतिनिधिमूलक मात्र हुन् । 

चालु आर्थिक वर्षको फागुन महिनासम्म खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले गुणस्तरहीन, न्यून गुणस्तरको खाद्यवस्तु उत्पादन गरी बिक्री वितरण गर्नुको साथै खाद्यवस्तुमा लेवल विवरण पूरा नराखेको कैफियत भेटेपछि ७ वटा उद्योग र त्यसका सञ्चालकहरू  विरूद्ध मुद्दा दर्ता गरेको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले खाद्यसँग सम्बन्धित मुद्दाहरू मोरङ अदालतमा र लेवलमा कैफियत भेटिए जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गराउँदै आएको छ ।

मुलुकी अपराध संहिता २०७५ ऐन लागू भएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले उत्पादन भएको खाद्यवस्तुमा कैफियत भेटिए अदालतमा खाद्य ऐन २०२३ र नियमावली २०२७ बमोजिम मुद्दा दायर गराउँदै आएको छ । चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्ममा विराटनगरका ६ र मोरङको बूढीगङ्गा गाउँपालिकाभित्र रहेको १ गरी ७ वटा उद्योगका सञ्चालकविरूद्ध मुद्दा दायर गरेको खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका प्रमुख राजकुमार रिजालले जानकारी दिए ।

उनका अनुसार ५ वटा जिल्ला प्रशासन कार्यालयमा र २ वटा मोरङ अदालतमा अभियोग दर्ता गराएको छ । ‘अदालत र प्रशानमा दायर भएको अहिलेसम्म ७ वटा मुद्दा हो’ उनले भने, ‘अन्य उद्योगहरूको अनुगमन गरी नमुना सङ्कलन गरी ल्याएको खाद्यवस्तुको रिपोर्ट आउन बाँकी छ ।’

विराटनगर–४ स्थित शिवम् डेरी उद्योगले उत्पादन गरेको खाद्य पदार्थमा अस्पष्ट लेवल विवरण उल्लेख गरी बिक्री वितरण गरेको भेटिएको थियो । उक्त उद्योगका सञ्चालक पुनिता सिन्हाविरुद्ध माघ ९ गते जिल्ला प्रशासन कार्यालय मोरङमा १० हजार रुपैयाँ जरिबाना मागदाबी राखी अभियोग दर्ता गराएको छ । त्यस्तै मोरङको बूढीगङ्गा गाउँपालिका–७ स्थित एसियन फिड्स प्रालिले उत्पादन गर्ने कुखुराको दाना गुणस्तरहीन भेटियो ।

त्यसपछि सो उद्योगका सञ्चालक सुजन थापाविरूद्ध माघ २३ गते जिल्ला प्रशासन कार्यालय मोरङमा २० हजारदेखि ५० हजार रुपैयाँसम्म जरिबाना वा १ महिना देखि १ वर्षसम्म कैद सजायको मागदाबी राखेर अभियोग दर्ता गराएको छ । यसैगरी विराटनगर–९ स्थित कपिश इण्टरप्राइजेजले उत्पादन गरेको ‘ज्वानो’ मा उत्पादन मिति र म्याद सकिने मिति उल्लेख नभएको खाद्यवस्तु बिक्री वितरण भएको भेटियोले सञ्चालक नितु अग्रवाल बंशलविरूद्ध मोरङ प्रशासनमा फागुन ९ गते अभियोग दायर गरेको छ ।

सो मुद्दामा सञ्चालक अग्रवालविरुद्ध १० हजार रुपैयाँ जरिबानाको माग दाबी छ । यस्तै विराटनगर–११ स्थित सगुन पाउरोटी उद्योगले उत्पादन गरेको केक र वन पाउरोटीमा लेवल विवरण पूरा नभएको भेटियो । त्यसपछि उद्योगका सञ्चालक अरविन्द स्वर्णकारविरुद्ध १० हजार रुपैयाँ माग दाबी राखेर फागुन ९ गते जिप्रका मोरङमा अभियोग दर्ता गरेको छ ।

यस्तै विराटनगर–११ मा सञ्चालित रुमन फुड एण्ड बेभरेज उद्योग प्रालिले उत्पादन गरेको भुजिया लेवल नभएको भेटियो र उद्योग सञ्चालक गुञ्जनकुमार सिंहविरुद्ध फागुन ९ गते जिप्रका मोरङमा १० हजार रुपैयाँ मागदाबी राखी अभियोग दर्ता गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले अभियोग दर्ता गराएको ७ वटा अभियोगमध्ये एउटामा मात्र आदेश भएको छ भने बाँकी सबै मुद्दा विचाराधीन रहेको कार्यालयले जनाएको छ । 

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले आइतबार विराटनगरमा सार्वजनिक गरेको दोस्रो चौमासिक प्रगति विवरण अनुसार उद्योगहरू अनुगमन गरी ८१ वटा नमुना सङ्कलन गरेको जानकारी गरायो । १ सय ४३ वटा उद्योग निरीक्षण गरेको अभिलेखमा देखिन्छ । ५ सय ७६ वटा खाद्य, दाना उद्योगको अनुज्ञापत्र जारी, नवीकरण तथा उद्योग सिफारिस गरेको कार्यालय प्रमुख रिजालले जानकारी दिए ।