धनकुटा। नेपाल निर्माण व्यवसायी सङ्घ १ नम्बर प्रदेश समितिका अध्यक्ष मोहनप्रसाद अधिकारीले १ नम्बर प्रदेश सरकारबाट १४ जिल्लाका निर्माण व्यवसायीहरूले ५ अर्ब २३ करोड भुक्तानी लिन बाँकी रहेको बताएका छन् ।
नेपाल निर्माण व्यवसायी सङ्घ धनकुटाको १५ औं वार्षिक साधारणसभालाई मङ्गलबार धनकुटामा सम्बोधन गर्दै प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षमा निर्माण कार्य सम्पन्न भएका १ नम्बर प्रदेशभित्रका विभिन्न जिल्लाको निर्माण सम्पन्न आयोजनाको भुक्तानी बाँकी रहेको अध्यक्ष अधिकारीले बताएका हुन् ।
प्रदेश सरकारले विभिन्न भौतिक पूर्वाधारका योजनाहरूको ठेक्का खुलाएर निर्माण व्यवसायीहरूलाई काम लगाएको १ वर्ष बित्न लाग्दा पनि भुक्तानी नदिनु सरकारको गैह्र जिम्मेवारी काम भएको अधिकारीले बताए । सो अवसरमा महासङ्घका केन्द्रीय सदस्य यज्ञ खतिवडाले सरकारले विभिन्न बहाना बनाएर निर्माण व्यवसायीहरूको भुक्तानी रोकेको गुनासो गरे । उनले सार्वजनिक खरिद ऐन संशोधन नभएसम्म निर्माण व्यवसायीको समस्या समाधान नहुने पनि ठोकुवा गरे ।
त्यसैगरी नेपाल निर्माण व्यवसायी सङ्घ प्रदेश १ का महासचिव जनसेवक भण्डारीले सरकारले टर्नओभर लगाएर निर्माण व्यवसायीलाई लोबिडिङ गर्न बाध्य बनाएको बताए । उनले कुनै पनि ठेक्काको लोबिडिङ गर्नु भनेको भोकाएको बेला फोहोर खाना खाएजस्तै भएको दाबी गरे ।
निर्माण व्यवसायी सङ्घ मोरङका अध्यक्ष सुरेशराज घिमिरेले गाउँपालिका र नगरपालिकाले मापदण्ड विपरीत निर्माण व्यवसायीहरूको लाइसेन्स दिने गरेको बताए । उनले जनप्रतिनिधिहरूले भनसुन र सोर्सफोर्सको भरमा निर्माण व्यवसायीको लाइसेन्स दिने गरेको आरोप लगाए । घिमिरेले जनप्रतिनिधिहरूले आफू अनुकूलको उपभोक्ता समिति बनाउने, टिपर, डोजर, जेसिवी किनेर आफै काम गर्ने बेथिति पछिल्लो समयमा बढेको बताए ।
तीन निर्माण व्यवसायीलाई सम्मान
निर्माण व्यवसायी सङ्घ धनकुटाले आफ्नो संस्थाको १५ औं वार्षिक साधारणसभाको अवसर पारेर तोकिएको समयभन्दा अगावै निर्माण कार्य सम्पन्न गर्ने धनकुटाका तीन निर्माण व्यवसायीलाई सम्मान गरेको छ ।
ठेक्का सम्झौतामा तोकिएको अवधिभन्दा अगावै निर्माण कार्य सम्पन्न गरेर धनकुटेली निर्माण व्यवसायीहरूको शिर उच्च बनाउन सफल भएको भन्दै तीन निर्माण व्यवसायीलाई सङ्घले धनकुटामा सम्मान गरेको हो ।
सम्मानित हुनेहरूमा सारा सृष्टि निर्माण सेवा प्रा.लि.धनकुटाका प्रबन्ध निर्देशक सन्तबहादुर राई, सगरमाथा जेवी सुदीक्षा थुलुङ कन्स्ट्रक्सनका प्रोप्राइटर प्रकाश थुलुङ र वाईपी निर्माण सेवा प्रा.लि.का प्रबन्धक महेन्द्र निरौला रहेका छन् । उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ का अध्यक्ष मोहनप्रसाद भण्डारी, सङ्घका धनकुटा अध्यक्ष अर्जुन केसीलगायतले खादा, दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
सम्मानित हुने सारा सृष्टि निर्माण सेवा प्रा.लि.का सन्तोष राईलाई सघन सहरी विकास तथा भवन निर्माण कार्यालय धनकुटाद्वारा ठेक्का सम्झौता गरी छथरजोरपाटी गाउँपालिकाको सामुदायिक निर्माण कार्य तोकिएको समयअगावै सम्पन्न गरी बोनस लिन सफल भएको भन्दै सम्मान गरिएको हो ।
त्यसैगरी सगरमाथा जेवी सुदीक्षा थुलुङ कन्स्ट्रक्सन प्रा.लि.का प्रकाश थुलुङलाई सघन सहरी विकास तथा भवन निर्माण कार्यालय धनकुटाद्वारा ठेक्का सम्झौता गरी सहिदभूमि गाउँपालिकाको आँखीसल्लामा निर्माण कार्य सम्पन्न गरिएको स्वास्थ्य चौकी भवन तोकिएको समयभन्दा अगावै सम्पन्न गरी बोनस पाएकाले सम्मान गरिएको हो ।
अर्का निर्माण व्यवसायी वाईपी निर्माण सेवा प्रा.लि.का प्रबन्ध निर्देशक महेन्द्र निरौलाले महालक्ष्मी नगरपालिकामा वनझाँक्री पार्क निर्माण कार्य सघन सहरी विकास तथा भवन निर्माण कार्यालय धनकुटाद्वारा ठेक्का सम्झौता तोकिएको समयभन्दा अगावै सम्पन्न गरी बोनस लिन सफल भएको भन्दै सङ्घको तर्फबाट सम्मान गरिएको धनकुटाका अध्यक्ष अर्जुन केसीले जानकारी दिए ।
सङ्घका सल्लाहकार सञ्चमान लिम्बूले निर्माण व्यवसायीहरूले समयमा काम गरेर बोनस तथा सम्मान पाउनु धनकुटाको लागि खुसीको विषय भएको बताए । उनले आगामी दिनमा पनि युवा निर्माण व्यवसायीहरूलाई गुणस्तरमा ध्यान दिन पनि लिम्बूले आग्रह गरे ।
सङ्घका धनकुटा अध्यक्ष अर्जुन केसीको अध्यक्षतामा सम्पन्न साधारणसभामा पत्रकार महासङ्घ धनकुटाका निवर्तमान अध्यक्ष खगेन्द्र घिमिरेलगायत विभिन्न सङ्घ–संस्थाका प्रमुख एवम् प्रतिनिधिहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । उद्घाटन सत्रपछि आयोजित बन्दसत्रमा सङ्घका आर्थिक तथा साङ्गठनिक प्रतिवेदन पारित गरिएको महासचिव यज्ञ राईले ब्लाष्टलाई जानकारी दिए ।