विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले बिहीबार नेपालको स्वास्थ्य र खोप प्रणालीलाई सुदृढ गर्न वित्तीय सहयोग अनुमोदन गरेको छ ।
नेपालको स्वास्थ्य र खोप प्रणालीलाई सुदृढ गर्दै सुरक्षित र प्रभावकारी कोभिड–१९ विरूद्धका खोपहरूको समतामूलक वितरणमा सहयोग पुर्याउन अन्तर्राष्ट्रिय विकास संघ (आईडा) मार्फत ७.५ करोड अमेरिकी डलर बराबरको वित्तीय सहयोग अनुमोदन गरेको हो ।
कोरोना रोकथाम र खोप अभियानमा सघाउन विश्व बैंकले नेपाललाई ७.५ करोड अमेरिकी डलर (करिब ८ अर्ब ७० करोड नेपाली रूपैयाँ) दिने भएको छ ।
यस वित्तीय सहयोगद्वारा समतामूलक वितरण योजनाको माध्यमबाट कम्तीमा एक तिहाई जनसंख्यासम्म खोपको सुविधा विस्तार गर्न सकिने विश्व बैंकको अपेक्षा छ ।
विशेष गरी खोपको खरिद, आपूर्ति र वितरणको सन्दर्भमा कम्तीमा ७२ प्रतिशत जनतालाई खोप दिने सरकारको महत्वाकांक्षी योजनालाई सघाउन सहयोग अनुमोदन गरेको मल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोस बताए । नेपाल र विश्व बैंकको बलियो साझेदारीको प्रमाण स्वरुप यो कदम चालेको बताए ।
पछिल्लो सहयोगको ९० प्रतिशत रकम कोभिड–१९का खोपहरूको खरिद र कोभ्याक्स सुविधामार्फत् प्राथमिकतामा परेका २० प्रतिशत जनसंख्याबाहेकका अन्य समूहमा खोप विस्तार गर्नमा परिचालित हुने विश्व बैंकले जनाएको छ । बाँकी रकमले कोभिड–१९ खोपका पहलहरूलाई सघाउन र निदान परीक्षणहरू, प्रयोगशाला उपकरणहरू र चिकित्सकीय सामग्रीहरू खरिद गर्न र नेपालको स्वास्थ्य प्रणालीलाई सुदृढ पार्ने पनि विश्व बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।