संखुवासभा। सङ्खुवासभा जिल्लाको सिलिचोङ गाउँपालिकामा सञ्चालित प्रथम सिलिचोङ अन्तर माध्यमिक विद्यालय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि सगरमाथा मावि ताम्कुले जितेको छ । सगरमाथाले १२ स्वर्ण र ३ रजतसहित पहिलो स्थान हात पारेको हो ।

सिलिचोङ गाउँपालिकामा नै पहिलो पटक सञ्चालन भएको प्रतियोगितामा ३ स्वर्ण र ५ रजत पदक जितेको बालायाम्दाङ माध्यमिक विद्यालय दोस्रो भएको छ । त्यस्तै २ स्वर्ण र ९ रजतसहित बाला मावि बाला तेस्रो भएको छ भने महेश्वरी मावि याम्फुले २ स्वर्ण र ३ रजत जित्दै चौथो स्थानमा चित्त बुझाएको छ ।

जीवनज्योति मावि माङ्तेवाले १ स्वर्णमा चित्त बुझाउनु परेको थियो । प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्सलगायतका १० विधाका खेलहरू खेलाइएको थियो । प्रतियोगितामा छात्र र छात्रा गरी २० खेल खेलाइएको थियो ।

सिलिचोङ गाउँपालिकाको आयोजनामा सञ्चालन गरिएको उक्त प्रतियोगिता वडानम्बर ३ ताम्कुको नागीटारमा सञ्चालन गरिएको थियो । सिलिचोङका ६ माध्यमिक विद्यालयहरूमध्ये कालिका मावि नेवाटार सिसुवाखोलाको सहभागिता रहेको थिएन ।

प्रतियोगिताको उत्कृष्ट दुई टिमलाई जिल्लास्तरीय प्रतियोगितामा पठाइने शिक्षा शाखा प्रमुख बुद्धि कुलुङले जानकारी दिए । स्थानीय सरकार आएसँगै सशर्त रूपमा कार्यक्रम सञ्चालनको लागि बजेट आउन थालेको हो । गतवर्ष कोरोना महामारीका कारण हुन नसकेको खेलकुद प्रतियोगिता गाउँपालिकामा पहिलो पटक सञ्चालनमा आएको हो  । 

विगतका वर्षहरूमा विद्यालयबाट सहभागी भएर निर्वाचन क्षेत्रस्तरीय छनौट खेल भई जिल्लास्तरीय खेल हुने गर्दथ्यो । आफ्नै स्थानीय तहमा खेल सञ्चालन भएर जिल्लास्तरीय खेलमा छनौट हुन पाउने अवधारणाले विद्यार्थीहरू अझ उत्साहित रहेका छन् ।

भलिबल खेलमा उत्कृष्ट स्थान हासिल गरेको बालायाम्दाङ माध्यमिक विद्यालयका विद्यार्थी खेलाडी सुमन कुलुङले स्थानीयस्तरमा नै हुने छनौट खेलले अझ हौसला प्रदान गरेको बताए ।

उनले जिल्लास्तरमा गएर प्रतिस्पर्धामा सहभागी हुनसमेत सहज हुने अपेक्षा लिएका छन् । जिल्ला समन्वय प्रमुख सुमन शाक्यको अध्यक्षतामा बनेको राष्ट्रपति रनिङ शिल्ड सञ्चालन तथा समन्वय समितिको आयोजनामा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आगामी वैशाख ३ र ४ गतेदेखि खाँदबारी रङ्गशालामा सञ्चालन हुनेछ । 

rastrapati-running-shiled