धरान । आन्द्रे पिर्लो यसपटक निकै दबावमा थिए । २०२०–२१ को सिजनबाटै युभेन्टस सम्हाल्न आइपुगेका इटालीका पूर्वस्टार पिर्लोले महत्त्वपूर्ण केही गर्न सकेका थिएनन् ।
यतिसम्म कि अर्को वर्ष हुने च्याम्पियन्स लिगमा पनि सहभागी हुन नपाउने अवस्था सिर्जना भइसकेको थियो । लगातार सिरी ए जित्दै आएको युभेन्टसले यसवर्षको सिरी ए पनि गुमायो । यतिसम्म कि साविक विजेता युभेन्टस सिरी ए मा पाँचौ स्थानमा खुम्चिन पुग्यो । युभेन्टसले अर्को सिजनमा हुने च्याम्पियन्स लिगमा पनि सहभागी हुन नसक्ने प्रवल सम्भावना बढेको छ ।
एकातिर सिरी ए गुमाउनु, अर्कोतिर च्याम्पियन्स लिगको अर्को सिजन गुमाउनु युभेन्टसका लागि निकै दुःखदायी क्षण हो । त्यसमा पनि स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो, पाउलो डिबालालगायतका खेलाडीहरु युभेन्टसमै रहलान् भन्ने प्रश्न पनि उत्तिकै टड्कारो रुपमा आएको छ । किनकि यी स्टारहरु च्याम्पियन्स लिगका लागि पनि ती क्लबका आवद्ध छन् । यस्ता अनेकन दबाव झेलिरहेका पिर्लोलाई बुधबार राति भने केही राहत मिलेको छ ।
उनको भविष्यलाई लिएर थुप्रै अड्कलबाजी भइरहेका बेला बुधबार भने सिरी ए को दोस्रो स्थानमा रहेको एटलान्टालाई २–१ ले हराउँदै कोपा इटालियाको उपाधि जितेको छ । यसले पिर्लोलाई केही राहत प्रदान गरेको छ । तर, उनको भविष्य अहिले नै आकलन गर्न सक्ने अवस्था छैन । किनकि उनी जुनसुकै बेला पनि क्लबबाट बाहिरिन सक्छन् अर्थात् उनलाई ‘फायर’ गरिन सक्छ । कोपा इटालिया उपाधि दिलाउनका लागि फेडेरिको चेइसा र रुसलान मालिनोभोक्सीले गोल गरे । यता एटलान्टाबाट गेन पेइरो गासपेरिनले गोल गरे ।