धरान । एसजी ग्रुपले बोकेर हिँड्न सकिने अक्सिजन ब्याग बजारमा ल्याएको छ ।
ग्रुपका अनुसार यसलाई सजिलै प्रयोग गर्न सकिन्छ । ग्रुपले चीनबाट आयत गरेको सञ्चालक सुगम घिमिरेले जानकारी दिए । नेपालमा अक्सिजनको सिलिन्डर मात्रै प्राप्त हुँदै आएको थियो । तर, यसखाल्को बोकेर हिँड्न मिल्ने अक्सिजन ब्यागले जो कोहीलाई पनि पहुँच पुग्न सजिलो हुने सञ्चालक घिमिरे बताउँछन् ।
विशेष गरी कोरोना महामारीका बेला अक्सिजनको तह घटिसकेका कोरोना संक्रमित बिरामीका लागि अस्पतालसम्म पुग्नका लागि अत्यन्तै उपयोगी मानिएको छ । यो पोटेबल अक्सिजन ब्याग’ घरघरमा र आइसोलेसन सेन्टरमा पनि प्रयोग गर्न सकिने बताए । होम आइसोलेसन तथा संस्थागत आइसोलेसनमा रहेकाहरुका लागि पनि यो प्रभावकारी हुन सक्ने कम्पनीको दाबी छ ।
सञ्चालक घिमिरेका अनुसार प्रत्येक ब्यागको मूल्य मूल्य अभिवृद्धि कर (भ्याट) सहित ८७५ रुपैयाँ पर्छ । ०.६७ लिटर क्षमताको ब्यागले करिब १ घण्टासम्म धान्न सकिने जनाइएको छ । पाँच मिनेट ३० सेकेन्ड भित्रै भर्न सकिने भएकाले पनि यो ब्याग अन्यको तुलनामा सहज हुने विश्वास गरिएको छ ।

अक्सिजन भर्नका लागि या त सिलिन्डर या कन्सन्ट्रेटरको माध्यम प्रयोग गर्नुपर्ने हुन्छ । भर्ने बेलामा भने केही कुरामा ध्यान दिन सकेमा यसलाई पुनःप्रयोग गर्न सकिने भएकाले एकदमै उपयोगी मागिएको छ । यसलाई १५० पना वा सोभन्दा मुनी मात्रै चाप दिनुपर्ने हुन्छ । अक्सिजन भर्दा अनिवार्य रुपमा निलो पाइप प्रयोग गर्नुपर्ने जनाइएको छ ।
बिरामीको अवस्था नाजुक बन्दै गएको अवस्थामा चाहिँ यस अक्सिजनले काम गर्न नसक्ने भएकाले चिकित्सकको सल्लाहमा अस्पताल भर्ना गर्ने व्यवस्था तुरुन्त मिलाइ हाल्नुपर्ने जनाइन्छ । बिरामीको अवस्था हेरी यसलाई प्रयोग गर्न सकिने भएकाले छोटो अवधि र सामान्य अक्सिजनको तह घटेका बिरामीका लागि भने निकै भरपर्दो हुने कम्पनी बताउँछ ।