धरान । फ्रान्सेली प्रशिक्षक जिनेदिन जिदानले रियल मड्रिडको प्रशिक्षकबाट बिहीबार राजीनामा दिएका छन् ।
उनले तत्काल लागू हुने गरी रियलबाट राजीनामा दिएका हुन् । उनी पहिलोपल्ट कुनै पनि उपाधिबिनै राजीनामा दिएका छन् । यस राजीनामालाई लिएर थुप्रै खाल्का अड्कलबाजी सुरु भएका छन् । हालै स्पेनको लिग अर्थात् ला लिगाको उपाधि एथ्लेटिको मड्रिडले उचालेको थियो ।
मड्रिडबाट राजीनामा दिने संकेत उनले १० दिनअघि नै गरेका थिए । अब रियलमा नयाँ प्रशिक्षकका रूपमा को आउने हुन् भन्ने चर्चा पनि चल्न थालेको छ । उनको राजीनामा स्वीकृत हुने नहुनेका बीच अड्कलहरु काटिन थालिएका छन् ।
रियलले सर्वाधिक तेह्रौंपटक च्याम्पियन्स लिगको उपाधि जित्दै इतिहास रच्न सफल भएको छ । तर, पछिल्लो सिजनमा रियलले कुनै पनि उपाधि हात पार्न सकेको छैन । हालै च्याम्पियन्स लिगको सेमिफाइनलमा रियल इंग्लिस क्लब चेल्सीसँग नराम्रोसँग पराजय भोगेको थियो । त्यसयता नै जिदानले स्पेनी मिडियालाई दिएको अन्तर्वार्तामा रियल छाड्ने संकेत गरेका थिए ।
रियलसँग २०२२ सम्म अनुबन्ध रहेका थिए । उनको बर्हिगमनसँगै रियलमा तीनजना प्रशिक्षकलाई पहिलो रोजाइमा परेका छन् । जसमा मासिमालिने एलेग्री, एन्टिनियो कोन्टे र राउल रहेका छन् । एलेग्री पहिलो रोजाइमा परेको स्पेनी मिडिया मार्काले जनाएको छ । रियलले ला लिगा जित्ने आशा गरिएको थियो । तर, एथ्लेटिको मड्रिडले उपाधि उचालेसँगै यसपटक रियल उपाधिविहीन बन्नु परेको थियो ।
रियलले गत सिजनमा केही नयाँ खेलाडीहरूलाई पनि भित्र्याएको थियो । तर, पनि सोचेजस्तो प्रदर्शन गर्न नसकेपछि जिदान असन्तुष्ट रहेका थिए । रियलले नयाँ सिजनमा फ्रेन्च खेलाडी केलियन एम्बाप्पेलाई भित्र्याउन सक्ने संकेत गरेको छ । त्यस्तै इर्लिङ हलान्डलाई पनि पहिलो रोजाइमा राखिएको छ ।
यी दुई खेलाडीलाई भित्र्याउन सकेको खण्डमा भने जिदान रियलमा रहन सक्ने सम्भावना पनि रहेको बताइन्छ । किनकि जिदान आएलगत्तै स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो र ग्यारेथ बेलले क्लब छाडेका थिए । उनीहरूको स्थानमा इडेन हाजार्ड, भरानेजस्ता नयाँ खेलाडी पदपूर्ति गरिए पनि सोचेजस्तो प्रदर्शन नगर्दा रियल समस्यामा रहेको हो ।