धरान । जर्मन प्रशिक्षक थोमस टुचालले नेतृत्व गरेको इंग्लिस क्लब चेल्सीले च्याम्पियन्स लिगको उपाधि जितेको हो । 

चेल्सीको यो दोस्रो उपाधि हो । यसअघि सन् २०१२ मा चेल्सीले उपाधि जितेको छ । केइ हभेर्टेजको निर्णायक गोलसँगै टुचालले पेप ग्वार्डिवालोको टिम म्यानचेस्टर सिटीलाई १–० गोलले हराएको थियो । दोस्रो हाफ प्रवेश गर्नुपूर्वको तीन मिनेट बाँकी छदा उनले गोलरक्षक इडर्सनलाई छकाउँदै गोलमा परिणत गरे । 

चेल्सीको क्यारिअरमा केइको यो पहिलो अन्तर्राष्ट्रिय गोल पनि हो । जर्मन प्रशिक्षकका हिसाबमा टुचालले उचालेको यो तेस्रो ट्रफी हो । यसअघि जर्मन प्रशिक्षक जुर्गेन क्लोपले सन् २०१९ र हान्स फ्लिकले सन् २०२० मा च्याम्पिन्स लिग उचाल्न महत्त्वपूर्ण भूमिका खेलेका थिए । 

चेल्सीले इंग्लिस प्रिमियर लिग उपाधि विजेता सिटीलाई हराउँदै इतिहास दोस्रोपटक च्याम्पियन्स लिग जित्ने टिम बनेको छ । सिटी पहिलोपटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो । तर, कमजोर खेल कौशलका कारण उपाधिबाट बन्चित हुनु परेको हो । 

पोजिसनका हिसाबले चेल्सीभन्दा सिटीको अवस्था राम्रो देखिएको थियो । उसको खुट्टामा ६० प्रतिशत बल रहँदा चेल्सीले ४० प्रतिशत मात्रै बल पोजिसन लिएको थियो । 

गोलकिपरमा प्रहारका हिसाबले चेल्सीले दुईपटक प्रहार गर्दा एउटा गोलमा परिणत गरेको थियो भने एउटा बाहिर प्रहार गरेको थियो । यता सिटीले एकपटक मात्रै गोलकिपरमा प्रहार गरेको थियो । सिटीबाट अन्तिम खेल खेलेका सर्जियो अग्युइरो अन्तिम मिनेटमा मैदान प्रवेश गरे पनि उनको लागि फलदायी रहेन । अग्युइरो यसै सिजनको अन्त्यसँगै बार्सिलोनाबाट देखिँदै छन् । पेपले उनलाई अन्तिम समयमा मात्रै मैदान प्रवेश गराएका थिए ।