घरेलु टिम रुसलाई ३–० गोल अन्तरले पराजित गर्दै बेल्जियमले १६ औं संस्करणको युरोकप फुटबलमा विजयी सुरुआत गरेको छ ।
शनिबार राति भएको खेलमा बेल्जियमलाई जित दिलाउन रोमेलु लुकाकुले दुई गोल गरे ।
यस्तै थोमस मुनिएरले एक गोल गरे । सेन्ट पिटर्सवर्गमा खेलको दशौँ मिनेटमा लुकाकुले गोल गर्दै बेल्जियमलाई सुरुआती अग्रता दिलाएका थिए । लुकाकुले पहिलो गोल अस्पताल भर्ना भएका इन्टर मिलानका सहकर्मी तथा डेनमार्कका क्रिस्टियन एरिक्सनलाई समर्पण गरे ।
३४ औं मिनेटमा थोमसले गोल गर्दै बेल्जियमलाई २–० को अग्रता दिलाए । ८८ औं मिनेटमा लुकाकुले व्यक्तिगत दोस्रो गोल गर्दै बेल्जियमलाई ३–० को जित दिलाए ।
जितसँगै बेल्जियमले युरोकपमा ३ अंक जोडेको छ । समूह ‘बी’मा रहेको बेल्जियम शीर्ष स्थानमा छ । रुसले भने हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।