वराहक्षेत्र नगरपालिकाले कृषकहरुलाई ५० प्रतिशत अनुदानमा दुहुना गाई वितरण गरेको छ ।
२२८ वटा गाई वितरणको लक्ष्य लिएको नगरको पशु सेवा विभागले बिहीबारसम्ममा १५५ वटा गाई वितरण गरेको छ । कम्तीमा ८ लिटर दूध दिने जर्सी वा होलस्टोन गाई कृषकले खरिद गर्नुपर्ने पशु स्वास्थ्य अधिकृत विमल अधिकारीले जानकारी दिए ।
सो वापत् नगरले ३५ हजार रुपैयाँ प्रति गाई प्रदान गरिरहेको छ । वराहक्षेत्र नगरपालिकाको निशर्त अनुदानअन्तर्गत विनियोजित १ करोड ६० लाख रुपैयाँबाट कृषकलाई दुहुना गाई वितरण गरिएको हो ।
आगामी आर्थिक वर्षमा समेत योजनाले निरन्तरता पाउने पशु सेवा प्राविधिक मेघराज बस्नेतले जानकारी दिए ।
चालु आर्थिक वर्षमा गाईसँगै नगरपालिकाले बंगुरको बच्चा बुचो २५ वटा, भुनी १३३ वटा वितरण गरेको छ । प्रजनन्योग्य राँगा ५ वटा, भ्याक्सिन लगाएको टर्की १ हजार वटा वितरण गरिसकेको छ ।
५० प्रतिशत अनुदानमा कृषकलाई च्यापकटर वितरण गरिएको छ । पशु स्वास्थ्य प्राविधक विमल अधिकारीका अनुसार नगरद्वारा विनियोजित ५ लाख रुपैयाँबाट च्यापकटर वितरण गरिएको हो ।
यसै गरी बाख्रा वितरण कार्यक्रमअन्तर्गत सशर्त अनुदानमा आएको २० लाख रुपैयाँबाट बाख्रा वितरण गरिएको छ भने विनियोजित ३९ लाख ८० हजारबाट पाडा प्रवद्र्धन कार्यक्रम सम्पन्न गरिएको छ ।
गोठ खोर सफाइका लागि पावर स्प्रे ५० प्रतिशत अनुदानमा कृषकलाई वितरण गरिएको पशु स्वास्थ्य प्राविधिक अधिकारीले जानकारी दिए ।
यसैगरी पूर्ण अनुदानमा ३४ सय केजी जै घाँस र टीओ सेन्टी घाँस १३ सय ३० केजी वितरण गरिएको छ ।
बोयर बोका वितरणमा ठेक्का परेन
वराहक्षेत्र नगरपालिकाको पशु सेवा विभागले नगरबाट विनियोजित २८ लाख ४० हजार रुपैयाँबाट बोयर बोका वितरण गर्ने योजना विफल भएको छ ।
ईबिडिङ र हार्डकपीमार्फत् ठेक्का लगाए पनि ठेकेदार कम्पनीले टेण्डर दरखास्त नदिंदा कृषकहरुलाई वितरण गर्ने भनिएको ७१ वटा बोयर वितरण योजना आगामी आर्थिक वर्षमा सरेको छ ।
स्वास्थ्य प्राविधिक अधिकारीका अनुसार नगरकै योजना भएकाले आगामी आर्थिक वर्षमा सरेर जाने बताए । ४८ जना कृषकले बोयर बोका माग गरेको भए पनि टेण्डर नपर्दा वितरण गर्न नसकिएको नगरपालिकाले जनाएको छ ।