धरान । धरान उपमहानगरपालिकाको लागत साझेदारीमा धरानका दुई वडाका २५ जना कृषकलाई बंगुरको पाठापाठी वितरण गरिएको छ ।
धरान ४ खैरेनीटार बंगुर पालन कृषक समूहका १५ जना, धरान ६ को चौकीडाँडा बंगुर पालन कृषक समूहका १० जना कृषकलाई तीनवटा भुनी र १ वटा बुच्चा वितरण गरिएको हो । धरान उपमहानगरपालिकाका पशु सेवा शाखाका प्रमुख महेन्द्रकुमार पैकराका अनुसार २५ जना कृषकलाई सयवटा बंगुरको पाठापाठा वितरण गरिएको हो ।
दुई चरण गरेर वितरण गरिएको उनले जानकारी दिए । समूहलाई दिइएको बंगुरको पाठापाठीलाई कृषकले भने बिक्री वितरण गर्न नपाउने प्रावधान राखिएको शाखाका पशु डाक्टर वीर्खराज राईले बताए । कृषकहरूलाई प्राविधिक ज्ञान, पहिलोपटक बिमा, औषधि, एकसाताका लागि दाना समेत वितरण गरिएको उनले बताए ।
धरान उपमहागनरपालिकाको ८ लाख ४० हजार रूपैयाँ, संघीय सरकारको ९ लाख ५३ हजार रूपैयाँ र कृषक समूहमा आवद्ध कृषकको खोर सुधारका लागि ६ लाख ४० हजार २ सय ५० रूपैयाँ खर्चमा कार्यक्रम सञ्चालन गरिएको हो । कुल ५० कृषकलाई २ सय पाठापाठी वितरण गरिएको छ । पहिलो चरणमा पनि २५ कृषकलाई नै बंगुरको पाठापाठी वितरण गरिएको प्रमुख पैकराले जानकारी दिए । पहिलो चरणमा धरान १७, धरान ५ र धरान ४ का कृषक समूहलाई पाठापाठी वितरण गरिएको थियो ।
कार्यक्रममा धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईले बंगुरको पाठापाठी वितरण गर्दै कृषकहरूलाई मूल पूँजीको रूपमा लिनका लागि आग्रह गरेका छन् । उनले भने, ‘तपाईंहरूले बिक्री गर्न पाउनुहुन्न, कुनै समस्या आएमा पशु सेवा शाखाका प्राविधिकहरूसँग सहकार्य गर्नुस् ।’ बच्चा उत्पादन गर्ने उद्देश्यका साथ वितरण गरिएको हो । पशु सेवा शाखाले यसको नियमित अनुगमन गर्ने पनि जनाइएको छ ।