धनकुटा  । धनकुटा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष धर्मलाल श्रेष्ठको बिहीबार निधन भएको छ । लामो समय देखी उनलाई मृगौलाको समस्या रहेको र पछिल्लो समयमा स्वासप्रश्वासको समस्याले विरामी परेका थिए । 

धनकुटा नगरपालिका–७ हुलाकटोल निवासी ७९ वर्षीय श्रेष्ठको अपराह्न साढे ३ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि श्रेष्ठलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।

चिकित्सकले घर लैजान सुझाव दिएपछि फर्काउँदै गर्दा उनको बाटैमा निधन भएको उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष विजय सन्तोषी राईले जानकारी दिका छन् ।

श्रेष्ठको बिहीबार साँझ मूलघाटस्थित तमोर नदी किनारमा अन्त्येष्टि गरिएको छ । उनी २०५८ देखि ०६२ सालसम्म दुई कार्यकाल उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष बनेका थिए ।