कानेपोखरी आइटिएफ तेक्वाण्डो डोजाङद्वारा नियमित टेक्वाण्डो खेल्ने ५४ खेलाडीलाई योग्यताको बेल्ट प्रदान गरिएको छ ।
शनिबार वडा नंंं. ६ स्थित जनसेवाको प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरी खेलाडीको योग्यताको परीक्षा गरी बेल्ट प्रदान गरिएको हो । ४७ जना खेलाडीलाई ओरेन्ज बेल्ट, ६ जनालाई स्टेप ग्रिन बेल्ट र १ जना आशिष भुजेललाई स्टेप ब्लाक बेल्ट प्रदान गरिएको छ । कार्यक्रममा खेलाडीलाई प्रमुख अतिथि, विशिष्ट अतिथि र अतिथिले बेल्टको प्रमाण–पत्र प्रदान गरे ।
त्यसैगरी कार्यक्रममा खेलअवधिभर अनुशासित खेल्ने आकृती दवाडी, खेलमा नियमित उपस्थित हुने खेलाडी सौगात चौधरी र उत्कृष्ट खेल प्रदर्शन गर्ने आशिका माझीलाई पुरस्कार प्रदान गरिएको थियो ।
पुरस्कारको व्यवस्था लायन्स क्लब अफ कानेपोखरीका प्रेसिडेन्ट उमेश पौडेलले गरेका थिए । कार्यक्रममा आइटिएफ तेक्वाण्डोको प्रमुख प्रशिक्षकमा युवराज भुजेल र इन्दिरा थापालाई जिम्मेवारी दिएको छ । आइटिएफ टेक्वाण्डो १ नम्बर प्रदेशका अध्यक्ष प्रवीण कार्कीले भुजेल र थापालाई प्रमुख प्रशिक्षकको प्रमाण–पत्र प्रदान गरेका थिए ।
जुनियर बेल्ट टेष्ट ग्रेडिङ्मा सहभागी प्रशिक्षार्थीलाई प्रशिक्षक नवीन तामाङ, चतुरलाल चौधरी र राजेन्द्र धिमालले शारीरिक र मौखिक परीक्षा लिएका थिए ।
विशेष अतिथि आइटिएफ तेक्वाण्डो १ नम्बर प्रदेशका अध्यक्ष प्रवीण कार्की र प्रमुख अतिथि कानेपोखरी गाउँपालिका प्रवक्ता तथा वडा नं. २ का वडाध्यक्ष सुशील बुढाथोकीले शुभकामना मन्तव्य दिएका थिए ।
कार्यक्रममा नेकपा एमालेको तर्फबाट कुमार फुयल, नेपाली कांग्रेसको तर्फबाट नेत्र थापा, अभिभावकको तर्फबाट कृष्णकुमारी दवाडी, होम न्यौपाने, राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य तथा मोरङ अध्यक्ष नवीन पौडेललगायतले शुभकामना दिएका थिए ।
कार्यक्रममा खड्ग बस्नेत, हरि न्यौपाने, मितेरी युवा क्लबका अध्यक्ष नवीन सुब्बा, जनसेवा माविका प्रधानाध्यपक दामोदर सिग्देल अतिथि रहेका थिए । डोजाङका सचिव एविन पाठकले कार्यक्रम सञ्चालन गरेका थिए भने सभाध्यक्ष युवराज भुजेल थिए ।