इटहरी। बजारमा कुरिलोको मूल्य अत्यधिक वृद्धि भएको छ । केही दिनयता बजारमा कुरिलोको मूल्यले कीर्तिमान कायम गरेको छ । अहिले बजारमा कुरिलोको मूल्य प्रतिकेजी १६ सय रुपैयाँ पुगेको छ ।

अहिले इटहरीको सब्जीमण्डीमा केजीको १६ सय रुपैयाँले बिक्री भइरहेको हो । कोरोना सङ्क्रमितहरूलाई औषधि हुन्छ भनेपछि अहिले बजारमा कुरिलोको अभावसँगै अत्यधिक मूल्य वृद्धि भएको व्यवसायी बताउँछन् । ‘कुरिलोको मूल्य अहिले बजारमा छोइसक्नु छैन’ सब्जीमण्डीकी व्यवसायी सुनिता ढकालले भनिन्, ‘मैले नै काठमाडौंदेखि केजीको चार सय रुपैयाँ हालेर मगाएको हो ।’

केही समयअगाडिसम्म ४ सय रूपैयाँ केजीमा बिक्री हुँदै आएको थियो । अहिले पर्याप्त मात्रामा कुरिलो नभएकाले अभाव हुन गई मूल्य बढेको अर्की तरकारी बेच्दै आएकी शोभा कार्की बताउँछिन् । कुरिलोको मूल्य अहिलेसम्मकै उच्च भएको उनको भनाइ थियो । ‘खै, यसपालि त कुरिलोको मूल्य सुनेर हामी नै अचम्मित भएका छौं’–उनी भन्छिन् ।

कुरिलो किन्दै भेटिएका इटहरी–१ आँपगाछीका ज्ञानेन्द्र पौडेलले बजारमा कुरिलोको मूल्य सुनेर छक्क परेको बताए । कुरिलोको मूल्य सुनेर अचम्मित बनेका उनी भन्छन्, ‘कोरोनाका बिरामीहरूलाई राम्रो हुन्छ भनेर किन्न बाध्य भएँ ।’ बजारमा पर्याप्त मात्रामा कुरिलो नआएकाले मूल्य बढेको तरकारी व्यापारीहरू बताउँछन् ।

अर्का तरकारी व्यापारी हिमाल श्रेष्ठ भन्छन्, ‘कोरोना सङ्क्रमण बढ्दै गएपछि इम्युनिटी पावर बढाउनका लागि कुरिलोको माग धेरै आएकाले मूल्य बढेको हो ।’ दैनिक उपभोग्य तरकारीका रूपमा रहेको कुरिलो औषधीय गुण रहेको छ । जसका कारण नै कुरिलो महँगो हुने गरेको तरकारी व्यवसायी बताउँछन् ।