इटहरी। इँटा उद्योगमा काम गर्ने मजदुरहरू अभाव हुँदा अहिले प्रदेश १ मा इँटाको अभाव भएको छ । कोरोना भाइरसका कारण भारतीय मजदुरलाई नेपाल प्रवेशको अनुमति नदिइँदा प्रदेश १ का इँटा उद्योगले यो वर्ष इँटा उत्पादन गर्न नसकेको बताएका छन् ।

कोरोना महामारीका कारण नेपाल–भारत सीमा आउजाउ बन्द गरिँदा यसको सबैभन्दा ठूलो मार प्रदेश १ का इँटा उद्योगलाई परेको उनीहरूको गुनासो छ । इँटा उत्पादन नहुँदा अहिले इँटाको मूल्यसमेत अत्यधिक वृद्धि भएको छ । करिब १ सय इँटा उद्योगहरूमा पश्चिमबङ्गालको कुचबिहारका झण्डै दश हजार मदजुर नआएको कारण इँटा उत्पादन नभएको नेपाल इँटा उद्योग महासङ्घका प्रदेश १ संयोजक खगेन्द्र श्रेष्ठले बताए । अहिले बजारमा इँटाको हाहाकार भएको भन्दै तत्काल प्रदेश सरकारले आवश्यक सुरक्षा मापदण्ड अपनाएर भारतीय मजदुरहरूलाई नेपाल ल्याउन दिनुपर्ने बताउँछन् । सुनसरी र मोरङमा मात्र ७५ वटा इँटा उद्योग छन् ।

प्रदेश १ का इँटा उद्योग ९० प्रतिशत भारतीय मजदुरको भरमा चलेका छन् । भारतीय मजदुर ल्याउन नपाउँदा उद्योग सञ्चालन हुन नसकेको संयोजक श्रेष्ठको गुनासो थियो । व्यवसायीहरूले प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, कानूनमन्त्री हिक्मत कार्कीलाई ज्ञापन–पत्र नै बुझाएर भारतीय मजदुर ल्याउन सहजीकरण गरिदिन आग्रह गरेको इँटा उद्योगीसमेत रहेका श्रेष्ठले बताए । ‘नेपालबाट भारतमा निर्वाध रूपमा कामदार गइरहेका बेला भारतबाट पनि नेपालमा काम गर्न आउने मजदुरलाई आउन दिनुपर्ने माग हाम्रो हो’–श्रेष्ठले भने ।

अधिकांश दक्ष कामदार सीमा बन्द भएका कारण भारतबाट आउन नसकेपछि उद्योग सञ्चालनमा समस्या देखिएको कोशी अञ्चल इँटा उद्योग व्यवसायी सङ्घका अध्यक्ष विजयकुमार श्रेष्ठले बताए । भारतबाट मजदुर नआउँदा आफूहरूलाई आर्थिक भारसमेत परेको उनको गुनासो छ । व्यवसायीहरूले भारतीय मजदुरहरूलाई करोडौं रुपैयाँ पेश्कीसमेत दिइसके पनि मदजुर आउन नपाउँदा सबै उद्योगी समस्यामा परेको अध्यक्ष श्रेष्ठको भनाइ छ । भारतबाट दक्ष कामदार नल्याए आफूहरूको उद्योग पलायन हुनसक्ने भन्दै बोर्डरमा सहजीकरण गरिदिन प्रशासन र प्रदेश सरकारसँग उनको आग्रह थियो ।

नेपाल उद्योग परिसङ्घ प्रदेश १ का अध्यक्ष भीम घिमिरेले इँटा उत्पादन रोकिँदा विकास निर्माण प्रभावित हुने भन्दै उनीहरूलाई नेपाल आउन दिनुपर्ने बताएका छन् । प्रदेश १ मा सञ्चालित इँटा उद्योगहरू प्राविधिक मजदुरको अभावले सञ्चालन गर्न समस्या भएको भन्दै सहजीकरण गर्न प्रदेश सरकारसँग आग्रह गरिएको बताए ।

इँटा उद्योगहरूमा भारतीय मजदुरले काम गर्दै आएकोमा सीमा बन्दले उनीहरू नआउँदा सञ्चालनमा समस्या भएको उनको भनाइ थियो । इँटा बनाउने सिजन आएका बेला राज्यले भारतीय दक्ष मजदुरलाई ल्याउन मापदण्ड निर्धारण गर्नुपर्ने इँटा उद्योगीहरूले माग गरेका छन् ।

कोरोना भाइरसको सङ्क्रमण रोक्न सीमा बन्द गरिएका कारण भारतीय कामदार भित्र्याउन नसक्दा इँटा उत्पादनको काम अवरुद्ध भएको सङ्घले जनाएको छ । सङ्घले प्रेस विज्ञप्ति निकालेर सङ्घीय र प्रदेश सरकारले भारतीय मजदुर ल्याउन निर्धारण गर्ने जुनसुकै मापदण्ड पालना गर्न आफूहरू तयार रहेको जनाएको छ ।

विकास निर्माणका कार्यहरू सञ्चालन गर्नको लागि मुख्य आवश्यक वस्तुको रूपमा इँटा पनि रहेकाले इँटा उद्योग नै बन्द भएमा विकास निर्माण कार्यसमेतमा प्रतिकूल असर पर्ने उद्योगीहरूले बताएका छन् । अहिले निर्माणको काम गर्न समस्या भइरहेको निर्माण व्यवसायीहरूले बताएका छन् । इँटा पाइहाले पनि मूल्य छोइनसक्नु छ ।