युनाइटेड अरब इमिरेटस् (यूएई) मा सम्पन्न एएसबीसी एशियन युथ एन्ड जुनियर बक्सिङ च्याम्पियनशिपमा नेपाललाई पहिलोपटक पदक दिलाएका खेलाडीहरुले अबको लक्ष्य ‘युथ वल्र्ड च्याम्पियनशिप’ भएको बताए । 

प्रतियोगितामा सहभागी भई यूएईबाट आज फर्किनुभएका खेलाडीहरुले त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा आयोजित स्वागत कार्यक्रममा पदक जित्नका लागि स्रोतसाधन र वातावरण आवश्यक भएको बताए । पुरुष ५४ किलोमा कास्य पदक प्राप्त गर्नुभएका छिरिङवाङ्दी शेर्पाले दुई महिनाको अभ्यासका कारण सफलता प्राप्त भएको सुनाए । “सङ्घ, परिवार र प्रशिक्षकको सहयोगले नै पदक प्राप्त गर्न सम्भव भएको हो,” उनले भने, “अबको लक्ष्य युथ वल्र्ड च्याम्पियनशिपमा पदक जित्ने हो ।” 

यस्तै महिला ५२ किलोमा कास्य प्राप्त गर्नुभएकी स्वस्तिका तिरुवाले आवश्यक वातावरण पाएमा नेपालका बक्सिङ खेलाडीले पनि पदक जित्न सक्ने यूएईमा सम्पन्न जुनियर च्याम्पियनशिपबाट प्रमाणित भएको बताए। “अभ्यास र प्रतियोगितामा सहभागिता हुन पाउनु खेलाडीका लागि मुख्य कुरा हो,” उनले भने, “दुवै कुरा उपलब्ध भए पदक जित्न सकिन्छ भन्ने लागेको छ ।” 

यसैगरी प्रतियोगितामा महिला ५७ किलोतर्फ कास्य पदक प्राप्त गर्न सफल नरिका राईले यूएई च्याम्पियनशिपबाट थप ऊर्जा मिलेको बताए । 

“खेलाडीका लागि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता आवश्यक छ, विश्वका अन्य खेलाडीको खेलबाट धेरै सिक्न पाइन्छ,” उनले भने। घरेलु प्रतियोगिताबाट मात्र खेलाडीको वृद्धि विकास सम्भव नभएको उनको भनाइ थियो । 

खेलाडीसँगै यूएईबाट फर्किनुभएका ओलम्पियन एवं प्रशिक्षक डम्वरदत्त भट्टले जुनियर बक्सिङ च्याम्पियनशिपबाट नेपालले ऐतिहासिक पदक प्राप्त गर्न सफल भएकोमा खुसी व्यक्त गरे । “स्वदेशको प्रतियोगितामा मात्र सीमित रहनु हुँदैन,” उनले भने, “बढीभन्दा बढी अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताले खेलाडीसँगै प्रशिक्षकलाई पदक प्राप्त गर्न मद्दत पुग्छ ।”

पछिल्लो समय बक्सिङ सङ्घको सक्रियताले खेलको स्तर वृद्धिका साथै उपलब्धि हासिल हुँदै गएको उनले सुनाए । उनले बक्सिङमा थप सफलता हासिल गर्नका लागि विद्यालयस्तरीय प्रतियोगिता गराउनुपर्नेमा जोड दिए । 

नेपाल बक्सिङ सङ्घका अध्यक्ष राम अवालेले अन्तर्राष्ट्रिय जुनियर बक्सिङ च्याम्पियनशिपमा पहिलोपटक पदक प्राप्त गरेपछि देशभर राम्रो सन्देश गएको बताए । “अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत पदक जित्न सकिने रहेछ भन्ने सन्देश सबैतिर फैलिएको छ, यसले हामीलाई खेलाडी उत्पादनमा थप हौसला मिलेको छ,” उनले भने । यूएई च्याम्पियनशिपबाट सङ्घको साख बढेको अध्यक्ष अवालेले सुनाए । “अब हामी जुनसुकै प्रतियोगितामा पनि पदकबाट टाढा छैनौँ,” उनले भने । 

एशियन युथ एन्ड जुनियर बक्सिङ च्याम्पियनशिपमा नेपालबाट ६ खेलाडीसहित १२ सदस्यीय टोली सहभागिता जनाउन यही भदौ २ गते यूएई प्रस्थान गरेको थियो । सहभागी खेलाडीमध्ये शेर्पाले पुरुष ५४ किलो, तिरुवाले महिला ५२ किलो तथा राईले ५७ किलोमा प्रतिस्पर्धा गर्दै कास्य पदक प्राप्त गरेका थिए । शेर्पा सेमिफाइनलमा कजाकिस्तानका एडाइबेक नियाजबेसित पराजित हुनुभएको थियो । सो स्पर्धामा नियाजले नै स्वर्ण पदक जिते। 

यस्तै तिरुवा र राई सेमिफाइनलमा भारतीय खेलाडीसित पराजित भएका थिए । 

त्यसअघि उनले कुवेतका मोहम्मद अलिनेजीलाई ५–० अङ्कले पराजित गरेका थिए । प्रतियोगितामा नेपालबाट पुरुषतर्फ ६० किलो तौलमा इन्द्रबहादुर सुनार, ५४ किलोमा सुलभ माली र ७१ किलोमा सुदेन गिरीले प्रतिस्पर्धा गरेका थिए ।

गत महिना ललितपुरको सातदोबाटोमा सम्पन्न छनोट प्रतियोगिताबाट यूएईमा भाग लिने खेलाडीको छनोट गरिएको थियो । टोलीमा ओलम्पियन एवं प्रशिक्षक भट्ट, दीपक महर्जन, सन्दीप श्रेष्ठ र दुर्गा गहतराज तथा व्यवस्थापकमा नेपाल बक्सिङ सङ्घका सदस्य मानबहादुर भण्डारी र झापा जिल्ला बक्सिङ सङ्घका सदस्य तर्कराज राई रहेका थिए । 

विमानस्थलमा उक्त टोलीलाई बक्सिङ सङ्घका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका सदस्य अवाले, सङ्घका वरिष्ठ उपाध्यक्ष एवं राष्ट्रिय खेलकुद परिषद्का सदस्य अर्जुनबहादुर केसी, बक्सिङ सङ्घका सदस्य एवं अन्तर्राष्ट्रिय संयोजक श्याम अवाले, बक्सिङका मुख्य प्रशिक्षक प्रकाश थापामगर, सङ्घका केन्द्रीय सदस्य पुष्करराज पन्त तथा खेलाडीका अविभावकहरुले खादा ओढाई स्वागत गरेका थिए ।