६ वर्षको अन्तरालपछि दशरथ रंगशालामा नेपाल र भारत मैत्रीपूर्ण फुटबल खेलमा आमनेसामने हुँदैछन् ।

आगामी असोज १५ देखि ३० सम्म माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको तयारीका लागि मैत्रीपूर्ण खेल आयोजना गरिएको हो । 

कोरोना महामारीका सन्त्रासमा आयोजना हुन लागेको खेलमा सीमित दर्शकले मैत्रीपूर्ण खेल हेर्ने मौका पाउने छन् ।

दुवै टोली सुखद लक्ष्यका लागि प्रतिस्पर्धा गर्ने बुधबार आयोजित प्रि–म्याच कन्फरेन्समा बताएका छन् । 

भारतसँग हुने मैत्रीपूर्ण खेलमा नेपाली टोली जितका लागि खेल्ने नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले बताएका छन् । अलमुताइरीले नेपाल भारतविरुद्ध जित्नको लागि खेल्ने बताए ।

नेपालका लागि ७३औँ खेल खेल्न लागेको नेपाली टोलीका कप्तान किरण चेम्जोङले नेपाली खेलाडी मानसिक र शारीरिक हिसाबमा तयार भएको बताए । 

भारतीय टोलीका मुख्य प्रशिक्षक इगोर स्टिमाच र कप्तान सुनिल क्षेत्रीले घरेलु टोली नेपालविरुद्धको मैत्रीपूर्ण खेल सहज नहुने बताएका छन् । 

भारतसँग १९ खेल खेलेको नेपालले दुई खेलमा मात्र विजयी भएको छ । चार खेल बराबरी गरेको छ भने भारतले १३ खेल जितेको छ ।एन्फाले भिआइपी प्यारापिटतर्फको टिकट मुल्य २ हजार तथा सामान्य प्यारापिटतर्फको मुल्य १ हजार तोकेको छ । 

टिकट विक्रीका लागि एन्फाले प्रभु पेसँग सम्झौता गरेको छ । दर्शकसहित खेल गराउन नेपाल सरकारबाट स्वीकृति प्राप्त भएपछि एन्फाले यस्तो व्यवस्था गरेको हो । 

सरकारले ५ हजार १ सयसम्म दर्शक राखेर नेपाल र भारतबीचको खेल गराउन एन्फालाई अनुमति दिएको बुधबार पत्रकार सम्मेलनमा अध्यक्ष कर्माछिरिङ शेर्पाले जानकारी गराएका थिए । 

एन्फाले कोभिड १९ विरुद्धको खोप लगाएका र पिसिआर गरेका दर्शकलाई मैदान प्रवेश गर्न दिने बताएको छ ।