बिर्तामोड । शनिश्चरे माविका शिक्षक रोहित खपाङ्गीद्वारा लिखित ‘हाम्रो किताब’ सार्वजनिक भएको छ । सोमबार बिहान विद्यालय प्राङ्गणमा शिक्षक खपाङ्गीद्वारा लिखित किताब सार्वजनिक गरिएको हो ।

आफु कार्यरत विद्यालयमा किताबका लेखक खपाङ्गीले आफ्नै विद्यार्थीबाट किताब सार्वजनिक गराएका छन् । उनले कक्षा नर्सरीमा अध्ययनरत विधार्थी साहिदु खातुनको हातबाट किताव सार्वजनिक गरेका छन् । किताब सार्वजनिक तथा विमोचन कार्यक्रमलाई फरक तरिकाले सम्पन्न गरेको लेखक खपाङ्गीले बताएका छन् ।

विद्यालयका प्रधानाध्यापक चेतामणि खनालको अध्यक्षमा सार्वजनिक गरिएको कितावमा सरल जीवन यापनका विषयवस्तु समेटिएका छन् । समाजका सबै विषयवस्तुलाई आफ्नो शैलीबाट प्रस्तुत गरेका खपाङ्गीले लेखनको ६ वर्षपछि किताबलाई प्रकाशनमा ल्याएको बताए ।

सुन्दर संसार अनि स्वस्थ्य, स्वाभिमानी, आनन्दित र सफल जीवनका लागि ‘हाम्रो किताब प्रकाशनमा ल्याइएको हो । ३ सय ७९ पेजमा उनले राष्ट्रिय तथा अन्तराष्ट्रिय विषयवस्तु समेत समेटेका छन् । प्रकृत प्रकाशनद्वारा प्रकाशित किताबमा ब्रह्माण्ड, पृथ्वी,जीवन, मान्छे, जन्म, मृत्यु, स्वास्थ्य, सम्बन्धहरु, नेपाल र नेपालीका बारेमा लेखिएको छ ।

‘खपाङगीको यो किताब पढेपछि अरु किताब पढ्नै पर्दैन, लेखक तथा पत्रकार तीर्थ सिग्देलले भने–‘यो कितावले लेख्न छुटाएका बिषयबस्तु केही छैन ।’ सिग्देलका अनुसार लामो समयको मिहेनत पछि सम्पुर्ण बिषयबस्तु समेटेर किताब आएको छ । किताबको सार्वजनिक गरिएपछि सोही विधालयका शिक्षक पुण्य सुबेदी र रुद्र खतिवडाले किताबका बारेमा छोटो विचार राखेका थिए ।