धरान । धरानको महेन्द्र बहुमुखी क्याम्पसको जग्गामा मोही हकदाबी गरिएको मुद्दामा भूमिसुधार तथा मालपोत कार्यालय सुनसरीले मोहीको पक्षमा फैसला सुनाएको छ ।

अर्धन्यायिक निकायको रूपमा रहेको भूमिसुधारले असोज २५ गते नै फैसला गरेको हो । उक्त फैसलाबारे क्याम्पस प्रशासनले सोमबार मात्रै जानकारी पाएको हो । मोही हकदाबीको माग गर्दै २०७५ सालमा मालपोत कार्यालयमा मोही डम्बरबहादुर घिमिरेको नाममा हकवालाहरूले निवेदन दिएका थिए ।

उक्त निवेदनको प्रतिउत्तर र मोहीको लगतकट्टा गरी पाउँ भन्दै क्याम्पस प्रशासनले पनि २०७५ सालमै निवेदन दिएको थियो । तर, भूमिसुधार कार्यालयले क्याम्पसको विपक्षमा फैसला सुनाएको क्याम्पस प्रमुख दामोदर भण्डारीले जानकारी दिए ।

‘हाम्रो विपक्षमा फैसला गरेको पाइयो, प्रशासनले पनि मोही लगत कट्टा गरी पाउँ भनेर निवेदन दिएको थियो । तर, हाम्रो पक्षमा फैसला भएनछ’–उनले फोन सम्पर्कमा भने ।

उनका अनुसार भूमिसुधारले मोहीको हकवालाको नाममा नामसारी गरिदिनका लागि फैसला गरेको छ । त्यसउपर उच्च अदालतमा पुनरावेदन गर्ने तयारी रहेको बताए । ‘विश्वविद्यालयको कानूनी सल्लाहकारसँग परामर्श गर्नका लागि नै म काठमाडौं जाँदै छु’ उनले भने, ‘हामी अपिल गर्छौं ।’

मोही डम्बरबहादुर घिमिरेको भने यसअघि नै मृत्यु भइसकेको छ । क्याम्पसले २०३४ सालमा श्यामगोविन्द श्रेष्ठसँग साविक धरान ९ क (हाल धरान–११ स्वस्तिक चोक) कित्ता नम्बर २६६ रहेको १७ कठ्ठा १८ धुर जग्गा खरिद गरेको थियो ।

उक्त जग्गामा तत्कालीन समयमा मोही लगतकट्टा नहुँदा भूमाफियाहरू सक्रिय भएका थिए । मोही डम्बरबहादुरको हकवाला यज्ञबहादुर क्षेत्रीले मोही नामसारी गरिदिन भन्दै निवेदन दिएका थिए ।