म्यान अफ द म्याच सलमान लिम्बूको एकमात्र गोलले बराहक्षेत्रमा जारी वराह च्यालेन्ज कपको उपाधि धरानस्थित पटनाली फुटबल क्लबले जितेको छ । 

प्रतिस्पर्धात्मक खेलमा उपविजेता सप्तकोशी फुटबल क्लब देवीघाटका दर्जनौ प्रयास विफल बनेपछि पटनाली १ – ० ले बिजेता बनेकाे हाे । बिजेता पटनालीले  ५१ हजार नगदसहित ट्रफी र मेडल प्राप्त रेकाे छ भने  उपविजेता सप्तकोशीले नगद ३१ हजारसहित ट्रफी मेडल प्राप्त गर्‍यो । 

विधागत पुरस्कारतर्फ उत्कृष्ट डिफेन्स पटनालीका सुजन बस्नेत घोषित भए । उत्कृष्ट गोल रक्षक पटनालीकै सुमन निरौला भएका छन् । त्यस्तै, सर्वाधिक गोलकर्ता पटनालीकै साहिल राई र उदयीमान खेलाडी हाटखोलाका हिमाल कुवर घोषित भए । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी सप्तकोसीका राम साही घोषित भएका छन् । विधागत विजेताले जनही ३/३ हजार नगदसहित म्याडल प्राप्त गरेका छन् ।

मुख्य प्रायोजक चतरा सामुदायिक बहुउद्देश्यीय सहकारी संस्थाकी अध्यक्ष सीता भण्डारी पौडेल र प्रमुख अतिथि अखिल नेपाल फुटबल संघका (एन्फा) केन्द्रीय मानार्थ उपध्यक्ष किशोर राईले प्रदान गरेका थिए । 

दोस्रो उपाधि प्रायोजक आदर्श सामुदायिक वन उपभोक्ता समितिकि अध्यक्ष सन्तोषी पाण्डे र विशिष्ट अतिथि नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि दीपेशजंग बस्नेतले प्रदान गरे ।

हाटखोला फुटबल क्लबको आयोजनामा गत मङ्सिर २३ गतेदेखि सन्चालित प्रतियोगिताका प्रमुख अतिथि एन्फाका प्रदेश अध्यक्षसमेत रहेका राईले वराह च्यालेन्ज कप बराहक्षेत्रको प्रतिष्ठा भएको बताए । 

स्थानीय बाइसबिघे खेल मैदान सम्पन्न प्रतियोगितालाई निरन्तरता दिने आयोजक हाटखोला एफसीका अध्यक्ष विकास सुनुवारले बताए ।