धरान/सूर्य इस्टर्न ओपन गल्फ टुरअन्तर्गत पहिलो दिन तेस्रोमा समेटिएका स्थानीय गल्फर शुक्रबहादुर राई कुल २ अन्डर १३८ खेल्दै शीर्ष स्थानमा उक्लिएका छन् ।

धरान गल्फ क्लबको पार ७० को कोर्षमा पहिलो दिन १ ओभर ७१ खेल्दै तेस्रोमा समेटिएका थिए । दोस्रो दिन ३ अन्डर ६७ खेल्दै ३६ होलको समाप्तिमा शीर्ष स्थानमा उक्लिएका हुन् । उनले फ्रन्ट नाइनमा ३ अन्डर ३३ खेल्दा ब्याक नाइनमा लेभल पार ३४ खेले । फ्रन्ट नाइनको तेस्रो, छैटौं र नवौं होलमा बर्डी बनाउँदा ब्याक नाइनको चौधौं र सत्रौं होलमा बुगी खेपे । बाह्रौं र सोह्रौं होलमा बर्डी गर्दै लेभल पार खेल्न सफल भए । ‘आज सबैभन्दा राम्रो टि सट र चिपिङ राम्रो भयो, जसले गर्दा खेल सोचेअनुसार नै भयो’ खेलपछि उनले भने, ‘भोलि पनि यसरी नै फोकस गरेर खेल्नेछु ।’ उनी तेह्रौं दक्षिण एसियाली सागका गल्फतर्फका स्वर्णधारी हुन् । 

शुक्रभन्दा एक स्टूोकले पछि रहेका रवि खड्का ३६ होलको समाप्तिमा १ अन्डर १३९ स्कोरका साथ दोस्रो नम्बरमा छन् । उनले फ्रन्ट नाइनको चौथो र सातौं होलमा बुगी खेप्दा पाँचौं र नवौं होलमा बर्डी गर्दै १ अन्डर ३५ खेले । ब्याक नाइनको एघारौं, सत्रौं र अन्तिम होलमा बर्डी गर्दै ३ अन्डर ३१ खेल्दै शुक्रलाई पछ्याइरहेका छन् । पहिलो दिन ३ अन्डरका साथ अग्रता बनाएका स्थानीय गल्फर निरज तामाङ कुलमा एक ओभर १४१ स्कोरका साथ तेस्रोमा समेटिए । उनको फ्रन्ट नाइन १ ओभर ३७ कार्ड बनाउँदा पहिलो, चौथो होलमा बुगी खेपे भने छैटौं होलमा बर्डी गरे । 

यता ब्याक नाइनमा तेह्रौं, चौधौं र अन्तिम होलमा बुगी खेप्दै ३ ओभर ३७ खेले । ३६ होलको समाप्तिमा १ ओभर १४१ स्कोरका साथ शुक्र र रविलाई पछ्याइरहेका छन् । अर्का स्थानीय गल्फर बलभन्द्र राई ‘मनि’ ३६ होल पूरा हुँदा २ ओभर १४२ स्कोर बनाएका छन् । उनले पहिलो, दोस्रो, छैटौं र सातौं होलमा बर्डी गर्दा चौथो र नवौं होलमा बुगी खेपे । फ्रन्ट नाइनमा २ अन्डर ३४ स्कोर बनाएका उनले ब्याक नाइन बाह्रौ होलमा बर्डी गर्द १ अन्डर ३३ खेले ।

दोस्रो दिन ३ अन्डर ६७ स्कोर बनाउँदै शुक्रसँग टाई भए पनि पहिलो दिन ५ ओभर ७५ स्कोरका कारण चौथोमा समेटिए । ३६ होलको समाप्तिमा भने उनी धन थापासँग २ ओभर १४२ स्कोर गर्दै टाइ गरे । धनले फ्रन्ट नाइनको दोस्रो, पाँचौं र नवौं होलमा बर्डी गर्दा तेस्रो होलमा इगल गर्दै पाँच अन्डर ३१ खेले । ब्याक नाइनको दशशौं, तेह्रौं, चौधौं, सत्रौं होलमा बुगी खेप्दा अन्तिम होलमा बर्डी गरे ।

चार ओभर १४४ खेल्दै सूर्यप्रसाद शर्मा छैटौं बन्दा सविन सापकोटा र सञ्जय लामा ६ ओभर १४६ स्कोर बनाउँदै सातौं नम्बरमा समेटिए । एमेच्योरतर्फ सुभाष तामाङले अग्रता बनाएका छन् । ६ ओभर १४६ स्कोर बनाएका उनी दोस्रो दिन एमेच्योरतर्फ शीर्ष स्थानमा उक्लिएका छन् । अर्का एमेच्योर युवराज भुजेल र जितेन्द्र राई ७ ओभर १४७ स्कोर गर्दै दोस्रो बनेका छन् । कुल ३० व्यवसायिक र १८ एमेच्योरबीचको भिडन्तमा ३६ होलको समाप्तिपश्चात् २२ व्यवसायिक र ६ जना एमेच्योर ५४ होलका लागि खेल्न योग्य बने ।

अन्य गल्फर दोस्रो दिनको खेलबाट कटआउट भएका छन् । विजेताले नगद एक लाख ३५ हजार रुपैयाँ पाउँदा दोस्रोले ८८ हजार, तेस्रोले ६५ हजार रुपैयाँ र अन्यले अङ्क तालिकाअनुसार नगद पुरस्कार पाउने छन् । यता एमेच्योरले भने टूफी मात्रै प्राप्त गर्ने छ । खेलको अन्तिम दिन समूहगत रूपमा प्रो(एम खेल हुनेछ ।