धरान/समग्रमा १ अन्डर २०९ कार्ड बनाउँदै स्थानीय प्रो. शुक्रबहादुर राईले सूर्य नेपाल इस्टर्न ओपन गल्फ टुरको दोस्रो संस्करणको उपाधि जितेका छन् । यो दोस्रो पटकको उपाधि हो । 

धरान गल्फ क्लबको कोर्षमा बुधबार सम्पन्न फाइनल राउन्डमा फ्रन्ट नाइनमा लेभल पार ३६ र ब्याक नाइनमा १ ओभर ३५ खेल्दै एक लाख ३५ हजार रुपैयाँ राशिसहित ट्रफी जित्न सफल बने । शुक्रभन्दा पाँच स्ट्रोक पछि परेका एमेच्योर सुभाष तामाङ एमेच्योरतर्फ विजेता बन्दा समग्रमा दोस्रो बने । उनले ४ ओभर २१४ स्कोर गर्दा फाइनल राउन्डमा २ अन्डर ६८ खेलेका थिए । व्यवसायिकतर्फ स्थानीय प्रो. बलभद्र राई समग्रमा ७ ओभर २१७ स्कोर गर्दै दोस्रो बन्दै नगद ८८ हजार रुपैयाँ पाए । त्यस्तै ९ ओभर गरेका अर्का स्थानीय प्रो. निरज तामाङ तेस्रो बन्दै नगद ६५ हजार रुपैयाँ जिते । 

प्रो. सञ्जय लामा चौथो बन्दै ५३ हजार ५ सय रुपैयाँ पाए । लामाले समग्रमा १० ओभर २२० स्कोर गरे । रवि खड्का र सविन सापकोटा ११ ओभर २२१ कार्ड बनाउँदै पाँचौंमा समेटिए । उनीहरूले जनही नगद ४२ हजार ५ सय रुपैयाँ पाए । एमेच्योरतर्फ युवराज भुजेल दोस्रो बने । उनले समग्रमा १३ ओभर २२३ स्कोर गरे । त्यस्तै सद्भाव आचार्य एमेच्योरतर्फ तेस्रो बने । उनले १७ ओभर २२७ स्कोर बनाए । कुल २२ व्यवसायिक र ६ जना एमेच्योरले ३६ होलको समाप्तिमा कट बनाएका थिए । तर, १ जना व्यवसायिक खेलाडी विनोद तामाङ भने ५४ होलको समाप्तिमा ३२ ओभर २४२ स्कोर गर्दै आउट भए । 

प्रतियोगितामा विजेतालाई धरान उपमहानगरपालिकाका प्रमुख तिलक राई, नेपाल पुलिसका एआइजी हरि पाल, सूर्य नेपालका सहायक ब्राण्ड म्यानेजर नवीन सरोज र धरान गल्फ क्लबका अध्यक्ष वीरेन्द्रविक्रम लिम्बूले पुरस्कार प्रदान गरे । सूर्य नेपालको मुख्य प्रायोजनमा हुने प्रतियोगिताको कुल राशि ७ लाख ७५ हजार रुपैयाँ रहेको थियो । प्रतियोगिताअन्तर्गत भोलि (शुक्रबार) व्यवसायिक र एमेच्योर खेलाडी सम्मिलित प्रो–एम इभेन्ट हुने छ ।