धरान/सुनसरीको इटहरीमा जिल्ला स्तरीय ए डिभिजन जिल्ला लिग कम नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ । 

इटहरी रङ्गशालामा सुरु भएको खेलमा गोधुली क्लब र न्यूस्टार क्लबले विजयी सुरुवात गरेका छन् । गोधुलीले दुहबीको एलेभेन एरोज क्लबलाई २–० गोलले हराएको छ । खेलमा सुशील राई र दीपक गिरीले एक–एक गोल गरे । खेलको म्यान अफ दी म्याच गोधुलीका सविन राई घोषित हुँदै नगद १ हजार ५ सय रुपैयाँ पाए । यस्तै बिहीबारै भएको अर्को खेलमा वराहक्षेत्रको न्यूस्टार क्लबले दुहवीको गोल्डेन स्टार क्लबलाई १–० गोलले हराएको छ । खेलको निर्णायक गोल सुजित राईले गरे । खेलको म्यान अफ दी म्याच न्यूस्टारका सन्तोष श्रेष्ठ घोषित भए । 

आज (शुक्रबार) को पहिलो खेल धरानको टेम्के क्लब र इटहरी फुटबल क्लबबीच हुनेछ भने दोस्रो खेल राष्ट्रिय जागृति क्लब इटहरी र धरान फुटबल क्लबबीच हुने आयोजकले जनाएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) सुनसरीको आयोजनामा सुरु भएको प्रतियोगितामा ८ वटा टिम सहभागी रहेको अध्यक्ष केवश कार्कील्े जानकारी दिए । प्रतियोगितामा सहभागी टिमलाई दुई समूहमा विभाजित गरिएको छ । विजेता टिमले नगद ५१ हजार रुपैयाँ र उपविजेताले नगद ३० हजार रुपैयाँ पाउने जनाइएको छ ।