धरान । हिसान स्पोर्टस् मिट २०७८ अन्तर्गत बिहीबारदेखि सुरु भएको बास्केटबल प्रतियोगितामा सेमीमाफानलको समीकरण पूरा भएको छ ।
पहिलो चरणको खेल पूरा हुँदै सेमिफाइनलको समीकरण पूरा भएको हो । धरान–१८ स्थित डिपो माविको बास्केटबल कोर्टमा सुरु भएको उद्घाटन खेलमा हिमालयन स्कुलले लोटस स्कुलाई २१–१५ अङ्कले पराजित गरेको छ । खेलको म्यान अफ दी म्याच हिमालयनका योगेश राई घोषित भए । त्यस्तै दोस्रो खेलमा एम्स एकेडेमीले विष्णु मेमोरियल स्कुललाई ३१–१५ को फराकिलो अङ्कले पराजित गरेको छ ।
खेलको म्यान अफ दी म्याच एम्सका निशान तामाङ घोषित भए । तेस्रो खेलमा धरान आदर्श एकेडेमीले डिपो स्कुललाई २७–२५ को झिनो अङ्कले हरायो । खेलको म्यान अफ दी म्याच धरान आदर्शका मोहित गुरुङ घोषित भएका थिए । चौथो खेलमा समिट स्कुलले विश्व आदर्शलाई २१–१८ अङ्कले हराएको छ । खेलको म्यान अफ द म्याच समिट स्कुलका रिदम भुजेल घोषित भए ।
अन्तिम खेलमा हिमालयन स्कुलले सियोन स्कुललाई २१–१५ अङ्कले हराउँदै दोस्रो चरणमा प्रवेश गरेको छ । खेलको म्यान अफ द म्याच हिमालयनका गगन राई घोषित भए । विजयी टिमहरू सेमिफाइनलमा प्रवेश गरेका छन् । पहिलो सेमिफाइनल खेल हिमालयन स्कुल र धरान आदर्श स्कुलबीच प्रतिस्पर्धा हुने जनाइएको छ । त्यस्तै एम्स एकेडेमी र समिट स्कुलबीच प्रीतस्पर्धा हुने जनाइएको छ ।
शुक्रबार नै बास्केटबलको महिला खेल समेत हुने जनाइएको छ । डिपो स्कुल धरानको बास्केटबल कोर्टमा हुने पहिलो खेलमा हिमालयन स्कुल र विष्णु मेमोरियल स्कुलले खेल्नेछन् भने दोस्रो खेलमा धरान आदर्श स्कुल र डिपो स्कुलले प्रतिष्पर्धा गर्नेछन् । बास्केटबल खेलको उद्घाटन कार्यक्रममा नेपाल बास्केटबल संघका उपाध्यक्ष सुरजकुमार लामा, जिल्ला बास्केटबल संघका अध्यक्ष नारायणप्रसाद सुवेदीलगायतको उपस्थिति थियो । कार्यक्रममा हिसान स्पोर्टस् मिट २०७८ का संयोजक सागर भट्टराईको अध्यक्षतामा सम्पन्न भएको थियो ।