तमु ल्होसार गोल्डकप अन्तर्राष्ट्रिय महिला नकआउट फुटबल प्रतियोगितामा धरान महिला फुटबल क्लबले विजयी भएकाे छ ।
बिर्तामोडकाे डोमालाल राजवंशी रंगशालामा भएकाे खेलमा खेल अवधिभर दुवै टिमले गोल गर्न नसकेपछि उपाधिको नतिजाका लागि सडेन डेथमा जानु परेको थियो । फाइनल खेलमा पाँचथरको श्रीसिंह सिंहदेवी ङोलो फुटबल क्लबलाई धरानले सडन डेथमा २–१ को गोल अन्तरले गोल गर्दै उपाधि उचालेको हो ।
खेलको विजेता धरानले नगद १ लाख ११ हजार १११, ट्रफी र मेडल पाएको छ । उपविजेता टोली पाँचथरले ५१ हजार १११ रुपैयाँ ट्रफी र मेडल प्राप्त गरेको छ । खेलका प्लेयर अफ दी म्याच पाँचथरकी प्रमिला राई घोषित भइन् ।
त्यस्तै, प्रतियोगिता अवधिभरको बेस्ट फरवार्ड धरानकी समिक्षा मगर, बेस्ट मिड फिल्ड पाँचथरकी प्रमिला राई, बेस्ट डिफेन्स पाँचथरकी रोश्नी क्षेत्री, बेस्ट गोल किपर धरानकी सीमा आले मगर, बेस्ट कोच धरानकी भगवती राना मगर भए । प्रतियागिताभरकी सर्वोत्कृष्ट खेलाडी धरानकी समिक्षा मगर भइन् ।
पाँचथरले मोरङको पथरी शनिश्चरे महिला एफसीलाई २–० को गोल अन्तरले पराजित गर्दै अन्तिम दुईमा स्थान पक्का गरेको थियो ।
धरानले रोयल एफसी दमकलाई टाइब्रेकरमा ३–२ गोलअन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो । फाइनलिस्ट दुवै टोलीको समान संयोग के छ भने उनीहरु एकै खेल जितेर फाइनल यात्रामा सफल भएका हुन् । प्रतियोगितामा ६ टिमको सहभागिता रहको थियो ।