धरान/वडास्तरीय टुवोर्ग गोधुली रनिङ कप प्रतियोगिता धरान रंगशालामा शनिबारदेखि सुरु भएको छ । 

उद्घाटन खेलमा धरान–१५ ले धरान–३ लाई ५–१ गोलअन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ । धरान १५ एकपटकको गोधुली विजेता हो । कमजोर रूपमा देखिएको धरान ३ लाई हराउनका लागि वसन्त बानियाँले दुई गोल गर्दा नगेन्द्र राई, मिलन लिम्बू र सुगम जिमीले गोल गरे । सबै गोल पहिलो हाफमै भएको थियो । त्यस्तै एकमात्रै सान्तवना गोल धरान ३ का दिवश क्षेत्रीले गरे । उनले पनि पहिलो हाफमै गोल गरेका थिए । 

godhuli_football_dharan (1)

धरान १५ का कप्तान वसन्त बानियाँले खेलको ११ औं मिनेटमा विपक्षी गोलरक्षकको कमजोरीको फाइदा उठाउँदै गोल गरे । त्यस्तै १४ औं मिनेटमा नगेन्द्र राईले गोल गर्दै अंक दोब्बर पारे । पुनः २८ मिनेटमा वसन्तले भलि प्रहार गर्दै गोल गरे । यता धरान ३ का परिवर्तित खेलाडी दिवसले ३३ औं मिनेटमा गोल गरेका थिए । खेलको म्यान अफ दी म्याच धरान १५ का प्रज्ञान देवान घोषित हुँदै नगद १५ सय रुपैयाँ पाए । प्रतियोगितामा आइतबार धरान ८ र धरान ४ बीच प्रतिस्पर्धा हुँदै छ । धरान ८ तीन पटकको विजेता टिम हो । 

godhuli_football_dharan (5)

प्रतियोगिताको उद्घाटन धरान १७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराईले गरे । उनले धरानलाई चिनाउनमा भूमिका खेल्ने फुटबललाई थप बजेट विनियोजन गर्नका लागि धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकमा आफ्नोतर्फबाट कुरा राख्ने बताए । कार्यक्रमका विशेष अतिथि एन्फाका वरिष्ठ मानार्थ उपाध्यक्ष किशोर राईले धरानको फुटबलका खेलाडीको जीवनस्तरलाई सुधार्नका लागि आफूहरु लाग्ने बताए । उनले भने, ‘विगतमा खेल्दा हामीले केही पाएनौं, त्यही पनि हामी खेल्यौं, तर अहिले अवस्था फरक छ । खेलाडीहरु व्यवसायिक बन्दै गएका छन् । उनीहरुका लागि पनि केही सोच्ने बेला आएको छ । विदेशमा लगेर डलर, पाउन्ड कमाउने बेला भएको छ ।’

godhuli_football_dharan (3)

प्रतियोगितामा यसपटक २० वटै वडाका टिम सहभागी छन् । यसअघि २ नम्बर वडा सहभागी बनेको थिएन । २०५५ सालदेखि हुँदै आएको प्रतियोगिता हालसम्म रोकिएको छैन । प्रतियोगितामा यसपटक विजेताले नगद १ लाख ७५ हजार रुपैयाँ र उपविजेताले नगद १ लाख रुपैयाँ पाउनेछ भने क्वार्टर फाइनलमा पुगेका ८ टिमले सुपर ८ प्रतियोगिता पनि भिड्न पाउनेछन् । क्लबका संस्थापक एवम् धरान खेलकुद विकास समितिका संयोजक स्वर्गीय सुवास राईको स्मृतिमा सुपर ८ प्रतियोगिता गराउन लागिएको कार्यबाहक अध्यक्ष सतिस केसीले जानकारी दिए । प्रतियोगिताको उद्घाटनपूर्व संस्थापक सुवास राईलाई श्रद्धाञ्जलि पनि अर्पण गरिएको थियो । 

godhuli_football_dharan (2)