यासोक । पाँचथरको कुम्मायक गाउँपालिकामा निर्माणाधीन विद्यालय भवन गुणस्तरहीन भएको भन्दै पालिकाले सच्याउन निर्देशन दिएको छ ।
कुम्मायक–५ स्थित महेन्द्रोदय माविको निर्माणाधीन भवन गुणस्तरहीन भएको भन्दै गाउँपालिकाले पुनः सच्याएर निर्माण गर्न निर्देशन दिएको हो । ठेकेदार कम्पनीले भवन निर्माणमा प्रयोग गरेको बालुवा र सिमेन्टको मात्रा पूरा नगरेको पाइएपछि विद्यालय प्रशासनले आपत्ति जनाएको छ ।
प्रदेश सरकारको ५० लाख र गाउँपालिकाको समपूरकअन्तर्गत साझेदारी रकमबाट थ्री लक्ष्मी कन्स्ट्रक्सन कुम्मायक–४ रानीगाउँले भवन निर्माणको काम गर्दै आएको छ । निर्माण कम्पनीले भ्याटसहित ७३ लाख ९४ हजार १ सय ९१ रुपैयाँमा ठेक्का पाएको थियो ।
चालु आर्थिक वर्षको असार मसान्तसम्ममा पूरा गर्ने जिम्मा पाएको कम्पनीले गुणस्तरहीन काम गरेको विद्यालयका प्रधानाध्यापक राजेन्द्र बुढाथोकीले बताए । उनी भन्छन्, ‘निर्माण कम्पनीले बालुवा र सिमेन्टको मात्रा नमिलाई भवन बनाउन थालेपछि हामीले गुणस्तरमा प्रश्न गर्यौं । तर, सुधारको सङ्केत देखिएन । त्यसपछि गाउँपालिकामा गुनासो गरेका हौँ’–प्रअ बुढाथोकीले भने ।
भवन निर्माणको विषयमा विद्यालय र अभिभावकले गुनासो गर्न थालेपछि गाउँपालिकाले निर्माणाधीन भवनको गुणस्तर तत्काल सच्याउन निर्देशन दिएको छ । सोमबार गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङसहितको प्राविधिक टोलीले योजनाको स्थलगत अनुगमन र निरीक्षण गरी भवनको जग भत्काएर पुनः निर्माण गर्न निर्देशन दिएको हो ।
निर्माणाधीन भवनको जगमा बालुवा, सिमेन्ट र क्युरिङको मात्रा पूरा नगरेको भन्दै पुनः निर्माण गर्न निर्देशन दिएको गाउँपालिकाका इन्जिनियर महेन्द्र बास्कोटाले जनाए । विद्यालयको दुई तलासहितको ८ कोठे पक्की भवन निर्माणको क्रममा कामदारबाट केही कमी कमजोरी भएको निर्माण कम्पनीले स्वीकार गरेको छ ।
गाउँपालिकाको प्राप्त निर्देशनका आधारमा काम गर्ने कम्पनीले प्रतिबद्धता जनाएको छ । भवन निर्माणको विषयमा जनगुनासो बढ्न थालेपछि गाउँपालिकाले अनुगमन गरी आवश्यक निर्देशन दिएको गाउँपालिका अध्यक्ष चेम्जोङले बताए । ‘निर्माण कम्पनीलाई गाउँपालिकाको तर्फबाट गुणस्तर सुधार गर्न निर्देशन भएको छ’ अध्यक्ष चेम्जोङले भने, ‘निर्देशनअनुसार गुणस्तर सुधार नभए कानूनी उपचारको खोजी गर्नेछौँ ।’