धरान/ नेपाल स्काउट वराहक्षेत्र नगर तदर्थ समिति सुनसरीले एक दिने स्काउटसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
वराहक्षेत्रको शिक्षा शाखाको सहयोगमा नगरका सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिहरूको उपस्थितिमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा शिक्षा, युवा तथा खेलकुद शाखा वराहक्षेत्रका प्रमुख देवेन्द्र मल्लले नगरका सबै विद्यालयमा स्काउट विस्तार गर्ने गरी पालिका अगाडि बढेको बताए ।
अभिमुखीकरण कार्यक्रममा प्रदेश १ स्काउट कार्यालयका संयोजक रवि खनाल, सदस्य हेमन्त भण्डारी, नेपाल स्काउट बेलबारी नगर संयोजक बादल देवान, प्रदेश अधिकृत नवराज घिमिरे र वराहक्षेत्र नगर तदर्थ समितिका सदस्य दीपेश अधिकारीले प्रशिक्षण दिएका थिए ।
वराहक्षेत्रका संयोजक बालकृष्ण राईको अध्यक्षतामा भएको कार्यक्रममा तदर्थ समिति सदस्य इन्द्रबहादुर बस्नेतले स्काउटलाई हरेक सामुदायिक विद्यालयमा लैजानु पर्ने बताए ।
कार्यक्रममा महेन्द्र मावि चक्रघट्टीका प्रधानाध्यापक चण्डिका पोख्रेल र जडेज मावि कालाबञ्जारका प्रधानाध्यापक हीरामणि पौडेललगायतले स्काउट लिडरका लागि आवश्यक तालिम आयोजना गर्न आग्रह गरे ।
–दीपेश अधिकारी, प्रशिक्षार्थी