प्राइम भिजन इन्स्टिच्युट अफ होटल म्यानेजमेन्ट धरान १० ले खेल सप्ताहको शुभारम्भ गरेको छ । महाशिवरात्री पर्वको अवसरमा पाँच किलो मिटर दौड आयोजना गर्दै 'प्राइम भिजन स्पोर्ट्स विक' को समुद्घाटन गरेको हो ।
समुद्घाटनमा आयोजित 'पीभीआइएचेम फाइभ के रन' मा कक्षा १२ का वाणिज्य सङ्कायका विद्यार्थी रोशन लावती विजयी भएका छन् । उनले १९ मिनेट ५७ सेकेन्डमा दौड पूरा गरेका थिए । उपविजेता एडिएचएमका विद्यार्थी रोनिश श्रेष्ठले २२ मिनेट २८ सेकेन्डमा दौड पूरा गरे । तेस्रो स्थानमा प्रकाश दुमी राई आए ।
छात्रातर्फ कक्षा १२ वाणिज्य सङ्कायकि हेन्खाम राई विजयी बनिन् । उनले ३७ मिनेट ५२ सेकेन्डमा दौड पूरा गरिन् । उपविजेता निकिता श्रेष्ठ बनिन् । तेस्रो स्थानमा विनिता राई आइन् । दौडमा प्राइम भिजनका ४० जना विद्यार्थीले सहभागिता जनाएको खेल संयोजक संगीत सिग्देलले जानकारी दिए ।
दौडको प्राविधिक सहयोग र मूल्याङ्कन धरानको प्रतिष्ठित दौड प्रतियोगिता 'धरान' ले गरेको थियो ।
धरान १० कलेज रोडमा अवस्थित प्राइम भिजन इन्टरनेश्नल होटल म्यानेजमेन्ट कलेजले दौडसँगै पहिलो दिन बुद्धिचाल प्रतियोगिता र क्यारेम प्रतिस्पर्धा गरेको छ । कोभिड सङ्क्रमणको लामो समय विद्यार्थीमा अतिरिक्त कृयाकलाप नभइरहेको अवस्थामा खेल सप्ताहले विद्यार्थीमा उत्साह दिने कलेजका सिईओ अविशेक श्रेष्ठले बताए ।