विराटनगर । सिसी टिभी जडान गरेर तास खेलाउने मोरङ उर्लाबारीका नेकपा एमालेका नेता कृष्ण प्रधानसहित ७ जना जुवाडेलाई जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले पक्राउ गरेको छ ।
उर्लाबारी नगरपालिका ७ स्थित प्रधानको घरमा जुवा खेलाइरहेको अवस्थामा बुधबार साँझ प्रहरीले सातजनालाई नियन्त्रणमा लिन सफल भएको हो । पक्राउ पर्नेमा उर्लाबारी ५ का कमल शाक्य, उर्लाबारीका १ कृष्ण अधिकारी, झुम्का रामधुनीका लक्ष्मी बास्तोला, झापा दमकका सूर्य प्रसाईं, उर्लाबारीका गोविन्द केसी र शिव लिम्बू रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मन्जिल मुकारूङले जानकारी दिए । तासको खालबाट २ लाख ४२ हजार रुपैयाँ बरामद गरेको छ ।
एमाले नेता प्रधानले घरमा सिसी टिभी जडान गरी तास खेलाउने गरेको गोप्य सूचनाका आधारमा प्रहरीले छापा मार्दा उनीहरू पक्राउ परेका हुन् । पक्राउ परेका जुवाडेलाई इप्रका उर्लाबारीले जिल्ला प्रशासन कार्यालय मोरङमा शुक्रबार म्याद थप गरि अनुसन्धान गर्ने जनाइएको छ । आज सार्वजनिक बिदा भएकाले शुक्रबारमात्रै म्याद थप गरी अनुसन्धान अगाडि बढाइने भएको छ ।