धरान । रोटरी क्लब अफ धरान घोपाले आजबाट सामुदायिक स्कुलहरूमा भिटामिन डी खोप लगाउन सुरु गरेको छ । 

रोटरीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाडजोर्नी विभागसँगको सहकार्यमा खोप लगाउन थालेको हो । धरानको शिक्षा निकेतन माविबाट खोप लगाउन सुरु गरिएको रोटरीका अध्यक्ष तुलसी वस्तीले जानकारी दिए । 

कक्षा १ देखि १० सम्मका करिब साढे तीन सय विद्यार्थीलाई खोप लगाइएको बताए । उनका अनुसार स्कुलका शिक्षकहरूलाई पनि खोप दिइएको छ । बीपी प्रतिष्ठानमा बिरामी भएर आउनेहरूको जाँच गर्दा ८० प्रतिशत जतिमा भिटामिन डीको कमी भएको पाइएकाले पनि सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई खोप दिन लागिएको प्रतिष्ठान हाडजोर्नी विभागका विभागीय प्रमुख प्रा.डा. विक्रमप्रसाद श्रेष्ठले जानकारी दिए । 

सामुदायिक स्कुलहरूमा गरिब तथा विपन्न विद्यार्थी अध्ययन गर्ने भएकाले पनि सामुदायिक विद्यालयका विद्यार्थीलाई लक्षित गरिएको उनले बताए । धरानमा ४९ वटा सामुदायिक विद्यालय छन् । करिब १० हजार विद्यार्थीलाई खोप लगाउने तयारी गरिएको छ । 

रोटरीले सामाजिक कार्यअन्तर्गत यसपटक खोप लगाउने कार्यक्रमलाई प्राथमिकतामा राखेको हो । रोटरीका सदस्यहरूबाट रकम सङ्कलन गरी खोप खरिद गरिएको छ ।