धरान/धरान मेघा रेवाहाङ मेमोरियल अन्तरविद्यालय बास्केटबल प्रतियोगिता चैतको दोस्रो साता हुने भएको छ ।
आयोजक मेघा कलेजले आइतबार पत्रकार सम्मेलन गर्दै चैत १५ देखि १९ गतेसम्म प्रतियोगिता गरिने जनाएको हो । प्रतियोगितामा धरान र धरानबाहिरका गरी करिब १२ टिम सहभागी बन्ने कलेजका अध्यक्ष कैलास लिम्बूले बताए ।
प्रतियोगितामा एउटा विद्यालयका २ टिम सहभागी बन्न पाउने छन् । जसमा कक्षा १० का विद्यार्थी अनिवार्य सहभागी गराउनुपर्ने प्रावधान राखिएको छ । डिपो स्कुलमा पढेका रेवाहाङ राईको परिवारले अक्षयकोष खडा गरेपछि प्रतियोगिता यसै वर्षबाट सुरुवात गर्न लागिएको हो । बास्केटबलमा उदयिमान खेलाडीका रूपमा रहेका रेवाहाङ सुटिङ गार्ड पोजिसनमा रहेर खेल्दै आएका थिए ।
उनको असामयिक निधन भएपश्चात् बुबा रेवतीरमण र आमा सुजता राईले अक्षयकोष खडा गरी बास्केटल प्रतियोगिता गर्न अनुमति प्रदान गरेका हुन् ।