धरान । सुवास राई स्मृति सुपर ८ फुटबल प्रतियोगितामा धरानको १४ नं. वडाले विजयी सुरुवात गरेको छ । जितसँगै १४ नं. वडाले ३ अंक प्राप्त गरेको छ । 

१४ नं. वडाले १८ नं. वडालाई २–० गोल अन्तरले पराजित गरेको हो । लिगकम नकाउटको आधारमा भइरहेको प्रतियोगितामा समुह ए को दुई खेल सम्पन्न भएको छ । जसमा वडा नं. १४ र १५ को समान ३ अंक रहेको छ भने ११ नं. वडा र १८ नं. वडाले अंक जोड्न सकेका छैनन् । १४ नं. वडाको जितमा सन्दीप राई र विपिन श्रेष्ठले गोल गरे । राईले खेलको ३४ औं मिनेटमा गोल गरेका हुन् भने श्रेष्ठले खेलको अन्तिम मिनेटमा गोल गरेका थिए । प्रतियोगितामा गोधुलीका उत्कृष्ट आठ टिम सहभागी छन् । दुई समुहमा विभाजन गरि समुहका विजेता तथा उपविजेता सेमिफाइनलमा पुग्नेछन् ।

भोलि वडा नं. १९ र ८ का बीच दिनको ठिक ४ बजे धरान रंगशालामा खेल हुने प्रतियोगिताको व्यवस्थापक धरान भेट्रान क्लबले जनाएको छ । फागुन २८ गते सुरु भएको प्रतियोगिता चैत्र १२ गतेसम्म चल्नेछन । प्रतियोगताको विजेताले २ लाख र उपविजेताले १ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।