विजयपुर । ६ बुँदे धरान घोषणा–पत्र जारी गर्दै किरात राई चाम्लिङ खाम्बातिमको पाँचौँ राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।

घोषणा–पत्रमा प्रदेश १ को नाम ‘किरात’ राख्न माग गरिएको छ । चाम्लिङ भाषालाई प्रादेशिक कामकाजको भाषा बनाउनुपर्ने, हलेसी तुवाचुङ नगरपालिकामा जस्तै अन्य स्थानीय तहमा पनि कामकाजको भाषा घोषणा गर्नुपर्ने माग गरिएको छ ।

चाम्लिङभाषी बसोबास गर्ने सबै क्षेत्रका विद्यालयमा चाम्लिङ भाषा पठन–पाठन गरिनुपर्ने, दरबन्दी कायम गरी शिक्षक व्यवस्था गरिनुपर्ने पनि माग गरिएको छ । चाम्लिङ राईहरूको संस्कृतिसम्बन्धी सम्मेलनहरू गर्ने, ऐतिहासिक स्थल संरक्षण र सम्बद्र्धन गर्ने पनि घोषणा–पत्रमा उल्लेख छ ।

यस्तै चाम्लिङ राईहरूको मौखिक ज्ञान मुन्दुम संरक्षण गर्नको लागि मोपा, खातवा, नछुङ (धामी) हरूलाई स्थानीय तहहरूले सांस्कृतिक अथवा संरक्षण भत्ताको व्यवस्था गर्न पनि माग गरिएको छ ।

पाँचौं राष्ट्रिय सम्मेलनले युवराज राईको अध्यक्षतामा २८ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको छ । कार्य समितिको उपाध्यक्षमा नरबहादुर राई, जयराम राई र भगवती चाम्लिङ राई चयन भएका छन् । महासचिवमा जितकुमार राई, सचिवमा सयन्द्र राई र भूपेन्द्र राई, कोषाध्यक्षमा राकेश राई, सह–कोषाध्यक्षमा एलिना राई र सुनिता राई चयन भए ।