धरान । दोस्रो इटहरी आमन्त्रण गोल्डकप भेट्रान फुटबल प्रतियोगिताको उपाधि धरान भेट्रान फुटबल क्लबले जितेको छ ।
मङ्गलबार जनता क्याम्पसमा सम्पन्न फाइनल खेलमा हाम्रो भेट्रान फुटबल क्लबलाई ४–२ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो । उपाधिसँगै धरानले नगद १ लाख रुपैयाँसहित ट्रफी पाएको छ ।
यता इटहरीले ५० हजार रुपैयाँमा चित्त बुझाएको छ । खेलमा धरानका लागि सागर थापाले ह्याट्रिक पूरा गरे । उनी राष्ट्रिय टिमका पूर्व कप्तानसमेत हुन् । तर, म्याच फिक्सिङको आरोप लागी सफाइ पाएपश्चात् भेट्रान फुटबल खेल्दै आएका छन् । त्यस्तै धरानका लागि जुमानु राईले थप एक गोल गरे । इटहरीबाट लीलाराम मगर र चुनबहादुर थापाले एक–एक गोल गरे ।
खेलमा सर्वाधिक गोलकर्ता बन्दै सागर थापाले नगद ३ हजार ५ सय रुपैयाँसहित ट्रफी पाए । जुमानु फाइनल खेलको म्यान अफ दी म्याच घोषित बन्दै नगद २ हजार १ सय रुपैयाँ हात पारे ।
खेलमा सर्वोत्कृष्ट खेलाडी इटहरीका नवीन न्यौपाने घोषित हुँदै नगद ५ हजार रुपैयाँ पाए । फागुन २४ गतेबाट सुरु भएको प्रतियोगितामा झापा, मोरङ, सुनसरी र धनकुटाका ८ टिम सहभागी बनेका थिए ।