धरान । निर्वाचन आयोगले साना दलहरूका लागि पनि आउँदो स्थानीय तहको चुनावमा दलको चिन्ह दिने भएको छ ।

राष्ट्रिय दलको मान्यता नपाएका साना दललाई चुनाव चिन्ह दिनका लागि बाटो खुल्ला गरेको छ । साना दललाई चुनाव चिन्ह नदिने यसअघिको निर्णयविरुद्ध साना दलहरू आन्दोलनमा थिए ।

आयोगको बुधबार बसेको बैठकले चुनाव चिन्ह प्रयोजनका लागि दलहरूको जिल्लाको सङ्गठनको अवस्था कस्तो रहेको छ, त्यसका विषयमा विवरण माग्ने निर्णय गरेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २६ मा यसअघि भएको चुनावमा बाहेक आगामी चुनावहरूमा राष्ट्रिय मान्यता नपाएका दलले आफ्नो दलको चिन्ह नपाउने व्यवस्था रहेको थियो ।

नेपालमा राष्ट्रिय दलको मान्यता ६ वटा दलले मात्रै प्राप्त गरेका थिए । अन्य दलले स्वतन्त्र हैसियतले चुनाव चिन्ह पाउने भएपछि साना दलहरूले त्यसको विरोध गर्दै आएका थिए ।

सङ्घीय लोकतान्त्रिक राष्ट्रिय पार्टीसम्बद्ध सङ्घीय लिम्बुवान मञ्च नेपालले जिल्ला निर्वाचन कार्यालय तथा सुनसरी जिल्ला प्रशासन कार्यालयमार्फत् निर्वाचन आयोग र प्रधानमन्त्री कार्यालय सिंहदरबारलाई केही दिनअघि साना दललाई चुनाव चिन्ह नदिने विषयलाई लिएर ज्ञापन–पत्र बुझाइएको थियो । आयोगले चैत ६ गतेभित्र विवरण दिनका लागि ७३ वटा दलहरूलाई सयमसीमा निर्धारण गरेको छ ।