विजयपुर । नेकपा (एमाले) ले धरानमा सुरु भएको खानेपानीको चरम् अभावको विषयमा भूमिगत स्रोतको उत्पादन केन्द्रको अनुगमन गर्दै खानेपानी व्यवस्थापन बोर्डलाई दोष देखाएको छ ।

नेकपा (एमाले) ले बोर्डको व्यवस्थापकीय कमजोरीका कारण धरानमा खानेपानीको अभाव भएको निष्कर्ष निकालेको हो । आइतबार खानेपानीको उत्पादन गर्ने जङ्गल क्षेत्रमा पुगी अनुगमन गर्दै विस्तृत आयोजना प्रतिवेदनअनुसार नै पानी उत्पादन भए पनि व्यवस्थापनमा कमजोरी देखिँदा समस्या भएको जनाइएको हो । स्थानीय चुनाव नजिकिँदै जाँदा एमालेले नगरमा भए गरेका कमजोरीको विषयमा उजागर गरिरहेको छ ।

यसलाई केहीले ‘राजनीतिक प्रोपोगाण्डा’ का रूपमा लिएका छन् । अनुगमनपश्चात् पार्टीको धारणा सार्वजनिक गर्दै एसियाली विकास बैङ्कको ऋण अनुदान सहयोगमा सञ्चालित परियोजना सफल भएको दाबी गरेका छन् । एमालेले भूमिगत स्रोतबाट आयोजनाको डिजाइनअनुसार नै पानी उत्पादन भएको नगर अध्यक्ष हर्कजङ एभेङले बताए ।

एभेङले खानेपानी समस्याका विषयमा जानकारी लिन अनुगमन गरिएको बताए । उनले पुनः प्राविधिकको समूहसहित अनुगमन गर्ने बताए । उनले भने, ‘प्राविधिकको काम चौकीदारलाई गर्न दिइएको रहेछ । उसलाई कसरी सञ्चालन गर्ने भन्ने कुरा थाहा छैन । त्यसैले समस्या भयो ।’ परियोजनाको डिजाइनअनुसार पानी उत्पादन भए पनि व्यवस्थापकीय कमजोरीले समस्या भएको उनले बताए ।

प्राविधिकबिनै गरिएको अनुगमनलाई लिएर धेरैले प्रश्न उठाएका छन् । एमाले प्रदेश नं. १ कमिटी सदस्य मुरारी सुवेदीले पनि खानेपानी वितरणमा समस्या भएको बताए । उनले भने, ‘हामीलाई परियोजना सञ्चालन गर्दा गरिएको ब्रिफिङअनुसार  र डिजाइनअनुसार पानीको उत्पादन ठीकै छ, वितरण पक्ष अस्तव्यस्त देखियो ।’

प्राविधिकबिनाको अनुगमनमा कसरी सफल असफल डिजाइनअनुसारको जानकारी भयो भन्ने जिज्ञासामा उनले खानेपानीका अपरेटरहरूबाट जानकारी भएको दाबी गरे । उनले खानेपानी बोर्डका अध्यक्षलाई व्यवस्थापनका लागि ध्यानाकर्षण गराउने बताए ।

यता उपमहानगर प्रमुख तिलक राईले गठन गरेको विज्ञ समूहले हालसम्म परियोजना सफल, असफल भएकोबारे स्पष्ट बोलेको अवस्था छैन । राजनीतिक विश्लेषक डा. राजेन्द्र शर्माले निर्वाचनमा आफूलाई लागेको दाग पखाल्नका लागि गरिएको क्रियाकलापका रूपमा लिए । उनले मुख्य नेतृत्व तहमा एमाले हुँदा खानेपानी परियोजना ल्याएको बताए ।

उनले भने, ‘आफ्नै गल्तीलाई ढाक्न गरिएको निर्वाचनकेन्द्रित काम हो ।’ उनले विज्ञप्ति हेर्दा १ करोड ५२ लाख लिटर पानी उत्पादन गर्ने दाबी गरेको बताउँदै प्रश्न गरे, ‘त्यसो भए पानी कहाँ गयो ? एमालेले सरकारमाथि दोष थुपारेर राम्रो हुन खोजेको हो ।’ एमालेले गरेका पछिल्ला केही गतिविधि निर्वाचनकेन्द्रित रहेको उनको बुझाइ छ ।

केही दिनअघि धरान उपमहानगरकी उपप्रमुखसमेत रहेकी एमाले केन्द्रीय सदस्य मञ्जु भण्डारी सुवेदीले अँधेरी खोला उत्खनन्का विषयमा पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी जानकारी गराएकी थिइन् ।