विराटनगर/ मोरङको लेटाङ नगरपालिका–५ खेरुवामा छात्रामाथि यौन दुव्र्यवहार भएको भन्दै एक शिक्षकविरुद्ध आइतबार दिउँसोदेखि प्रदर्शन भइरहेको थियो ।

शिक्षा विकास माविका ५६ वर्षीय शिक्षक मनोज पौडेलले कक्षा ७ मा अध्ययनरत १४ वर्षीया छात्रालाई शुक्रबार होली पर्वको दिन रङ लगाउने क्रममा यौन दुव्र्यवहार गरेको भन्दै स्थानीयले विद्यालय घेराउ गरेका थिए । दिउँसो १ बजेको समयमा स्थानीयले शिक्षकलाई नै कुटपिट गर्ने अवस्था आएपछि प्रदर्शनले उग्र रूप लिन थालेपछि थप मद्दतका लागि इलाका प्रहरी कार्यालय लेटाङले मोरङ प्रहरीसँग सहयोग माग्यो ।

कानूनी कारबाही गर्नको लागि प्रहरीले शिक्षकलाई नियन्त्रणमा लिएर इप्रका लेटाङ लैजान खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच विद्यालयपरिसरमै तनावको स्थिति बन्न पुग्यो । सो क्रममा प्रहरीले आक्रोसित विद्यार्थीमाथि सामान्य लाठीचार्ज गरेको थियो । स्थिति झनै उग्र बन्दै गएपछि मोरङ प्रहरीले १ नं. प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय रानी विराटनगरबाट ५० जनाको थप मद्दत टोली झिकाएको थियो । मोरङका एसपी जनार्दन  जिसी थप प्रहरीको मद्दत लिएर राति ८ बजे विद्यालय पुगेका थिए । त्यही टोलीमा थिइन् २६ वर्षीया प्रहरी जवान उर्मिला श्रेष्ठ ।

स्थिति निकै तनावग्रस्त बन्दै जान थाल्यो । प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायर र अश्रुग्यास प्रहार ग¥यो । स्थानीयमध्ये केहीले घरेलु हतियार पनि बोकेर आएका थिए । घटनास्थलमै रहेका एक प्रहरी अधिकारीले भने, ‘घरेलु हतियार, सिसाका बोतल हामीमाथि बर्सिए । प्रहरीलाई नै ज्यान जोगाउन मुस्किल भयो ।’ दोहोरो झडपमा मोरङ प्रहरीका एसपी जनार्दन जिसीसहित २५ जना प्रहरी र ७ जना स्थानीय घाइते भए । घाइते हुनेमा एसपी जिसीका बडीगार्ड प्रहरी हवल्दार मेघचन्द्र राई पनि घाइते भए । अँध्यारो हुँदै गएपछि भीड आक्रोसित हुँदै गयो । प्रहरीलाई नै लखेट्न थाल्यो । दोहोरो झडप बढ्दै जाँदा रातको ९ बजेको थियो ।

‘स्कुलको सानो गेटबाट भागाभाग हुन थाल्यो । प्रहरीमाथि सिसाका बोतल, ढुङ्गामुढा बर्सिन थाले । त्यही क्रममा उर्लिएको भीडले उर्मीलामाथि आक्रमण ग¥यो । उनले ज्यान जोगाउन सकिनन् । घाँटीमा धारिलो हतियार प्रहार भयो’ मोरङ प्रहरी प्रमुख एसपी जिसीले भने, ‘घाँटीमै धारिलो हतियार प्रहार भएपछि उहाँ गम्भीर हुनुभएको थियो । अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु हुनपुग्यो । यसबारे हामी अनुसन्धान गर्दैछौं ।’

इलाका प्रहरी कार्यालय लेटाङका इन्स्पेक्टर रोमनराज अर्याल आफैले उर्मिलालाई मैदानबाट उठाएर मोटरसाइकलमा राखेर अस्पताल पठाए । रक्ताम्य उर्मिला अचेत थिइन् । उनको मुटुको धड्कन थिएन । उनलाई कोसी अञ्चल अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरे । अरूलाई सुरक्षित गर्न ड्युटीमा खटिएकी उर्मिला अपराधीहरूको हातबाट मारिइन् । उनले अरूलाई जोगाइन्, तर आफूलाई जोगाउन सकिनन् । प्रहरीले यस घटनामा ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । पक्राउ परेका व्यक्तिको नाम प्रहरीले खुलाएको छैन । पहिचान गोप्य राखेर प्रहरीले घटनाको सूक्ष्म तरिकाले अनुसन्धान सुरु गरेको छ ।

उर्मिलाको परिवारै प्रहरी
झण्डै तीन वर्षअघि प्रहरी सेवामा प्रवेश गरेकी उर्मिलाको परिवारै प्रहरी सेवामा रहेको पाइएको छ ।

०७६ साल साउन १ गतेबाट प्रहरी सेवामा प्रवेश गरेकी उर्मिलाको गत वैशाख १९ गते प्रहरी जवान नवीन श्रेष्ठसँग विवाह भएको थियो । खोटाङको वराहपोखरी गाउँपालिका–४ माइतीघर भएकी उर्मीलाको विवाहपछिको घर उदयपुर हो ।

उनका श्रीमान् इलाममा कार्यरत थिए । उर्मिलाको दाइ भूवन श्रेष्ठ र भाउजू मीना श्रेष्ठ पनि प्रहरी सेवामै कार्यरत छन् । दाजु भूवन बखरी प्रहरी चौकी विराटनगरको सहायक प्रहरी निरीक्षक हुन् भने भाउजू मीना प्रहरी जवान हुन् ।

लोकसेवा आयोगको परीक्षामा असफल भएपछि उनी प्रहरी सेवामा भर्ना भएकी हुन् । उदयपुरको त्रियुगा जनता क्याम्पसबाट स्नातक तह उत्तीर्ण गरेपछि उनी प्रहरी सेवामा प्रवेश गरेकी हुन् । ‘बहिनी उर्मिला अध्ययनमा अब्बल थिइन् । एकदमै मेहनती र मिलनसार थिइन् । पढाइमा पनि उनी अब्बल थिइन् । 

प्रहरी सेवामा लागेर जनताको सेवक बन्छु भनेकी बहिनी  गुमाउँदा हामी दुःखी छौं’–दाजु भूवनले ब्लाष्टसँग भने । इलाममा कार्यरत नवीन श्रीमतीको मृत्युको खबरपछि राति नै विराटनगर पुगेका छन् । प्रहरीले परम्पराअनुसार सलामी दिएर उर्मिलाको अन्त्येष्टिको तयारी गरेको छ । बुबा कुमार र आमा सीतामायाकी एक्ली छोरी उर्मिला २०५२ कात्तिक १४ गते खोटाङ वराहपोखरी गाउँपालिकामा  जन्मेकी थिइन् ।

घटनास्थल  लेटाङ–५ खेरुवा वरपरको क्षेत्रमा सोमबार बिहान ७ बजेदेखि अर्को आदेश जारी नहुञ्जेलसम्मका लागि जिल्ला प्रशासन कार्यालय मोरङले कर्फ्यु लगाएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले लेटाङको वडा नं. ३ र ४ को पश्चिम एरिया गङ्गे चोक र कमलपुर क्षेत्र, ५ नं. वडाका सबै क्षेत्र, उत्तरमा लेटाङको ६ नम्बर वडा कार्यालय क्षेत्र, पूर्वमा मोरङी खोला क्षेत्र, पश्चिममा चिसाङ खोला क्षेत्रमा कर्फ्यु लगाएको जानकारी दिएका छन् ।

सोमबार मोरङको सुन्दरहरैंचा आएका प्रधानमन्त्री शेरबहादुर देउवाले प्रहरी हत्यामा संलग्न दोषीलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाएका छन् । ‘दोषीलाई कारबाहीको दायरामा ल्याइनेछ’–प्रधानमन्त्री देउवाले भने । उनले प्रहरीलाई अनुसन्धानका लागि निर्देशनसमेत दिइसकेका छन् ।

अन्त्येष्टि उदयपुरमा हुने
विराटनगर । मोरङको लेटाङमा ज्यान गुमाएकी २६ वर्षीया उर्मिला श्रेष्ठलाई प्रहरी सङ्गठनले अन्तिम बिदाइ गरेर उनको शव परिवारलाई जिम्मा लगाएको छ ।

विराटनगरस्थित कोसी अस्पतालमा पोष्टमार्टम प्रक्रिया पूरा गरेपछि श्रेष्ठलाई प्रहरी सङ्गठनले सोमबार दिउँसो अन्तिम सलामी अर्पण गरेको थियो । सलामी अर्पणमा मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, १ नं. प्रदेश प्रहरी प्रमुख डिआइजी अरुणकुमार जिसी, मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीसहितका प्रहरी अधिकारी, उर्मिलाका सहकर्मीलगायतले उनको शवमा पुष्पगुच्छा अर्पण गरेर अन्तिम बिदाइ गरेका हुन् ।

प्रहरीका अनुसार उदयपुरको त्रियुगा निवासी उर्मिलाको परिवारले शव लिएर गएको छ । उनको अन्त्येष्टि उदयपुरको त्रियुगा नगरपालिका–१६ सिहीदारमा आज (मङ्गलबार) हुने दाजु भूवन श्रेष्ठले जानकारी दिए । नेवारी परम्पराअनुसार उर्मिलाको अन्त्येष्टि हुने परिवारले जनाएको छ ।

आफूसँगै दिनरात कर्तव्य पालनामा खटिने साथीलाई अन्तिम बिदाइ गर्नुपर्दा प्रहरी जवान उर्मिलाका सहकर्मीहरू सोमबार भावुक देखिन्थे । कोसी अस्पताल परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि उनको शव राखिँदा भेला भएका प्रहरी मलिन अनुहार लिएर कार्यक्रममा सहभागी थिए ।

urmila