धरान । खानेपानीको हाहाकारलाई टार्न धरान–९ का वडाध्यक्षले आफ्ना वडाका पाँच स्थानमा खानेपानी ट्याङ्की राखेर स्थानीयलाई सेवा दिन थालेका छन् । 

धरान–९ को चर्चलाइनमा मंगलबारबाट स्थानीयलाई खानेपानी खुवाउन थालिएको हो । वडाले आफ्नै खर्चमा ५ हजार लिटर क्षमताको ट्याङ्की राखेर पानी खुवाउन थालिएको वडाध्यक्ष रत्नबहादुर कट्वालले जानकारी दिए । खानेपानी व्यवस्थापन बोर्डले खानेपानी खुवाउन थालेयता धरान ९ मा झनै समस्या हुन थालेपछि वडाले करिब साढे १० लाख रुपैयाँको बजेटमा वडाका ५ स्थानमा ५ हजार लिटर क्षमताका ट्याङ्की निर्माण गरी पानी खुवाउन थालेको हो । 

वडाध्यक्ष कट्वालका अनुसार गौतम पथ, आचार्यलाइन, विनायक पथ, पूर्ण पथ र चर्चलाइनमा खानेपानीको ट्याङ्की राखिँदै छ । जसमध्ये चर्चलाइनमा उद्घाटन गरी आजबाट पानी खुवाउन थालिएको हो । वडाले ट्याङ्करमार्फत् पानी खरिद गरी ट्याङ्कीमा पानी भरिदिने गरेको छ । 

एसियाली विकास बैङ्क (एडिबी) को ऋण अनुदानमा भूमिगत स्रोतबाट धरानका लागि १८ घण्टा पानी खुवाउने दाबी गरिए पनि हाल आएर धरानका सबै क्षेत्रमा खानेपानीको हाहाकार हुने गरेको छ । केही वडाहरूले ट्याङ्करमार्फत् पानी खुवाउँदै आइरहेका छन् । धरान–९ मा १८ वटा टोल छन् भने ५५० घरधुरी र करिब ४५ सय जनसंख्या रहेको छ ।