विजयपुर । प्रहरी कार्यालयमा आएको निवेदनलाई आधार मान्ने हो भने धरानमा मोटरसाइकल तथा स्कुटर चोरी एकाएक बढेको छ ।
इलाका प्रहरी कार्यालय धरानमा आएका निवेदनले नै धरानमा मोटरसाइकल चोरीको ग्राफ बढेको देखाएको हो । फागुन २३ गते धरान–१९ बाट मे.७ प ६९९४ नम्बरको २ सय २० सिसीको पल्सर मोटरसाइकल चोरी भयो । फागुन २५ गते १ सय २५ सिसी डियो स्कुटर धरान–५ खैरेनीस्थित घरैबाट हरायो ।
फागुन २७ गते धरान–१८ बुद्धचोकबाट को.१२ प ६३७७ नम्बरको मोटरसाइकल हराएर खोजीका लागि इलाका प्रहरी कार्यालयमा निवेदन परेको छ । फागुन २८ गते धरान–१५ बगरकोटबाट को.३९ प १७२ नम्बरको मोटरसाइकल हरायो । फागुन ३० गते यामाहाको १ सय ५० सिसीको मोटरसाइकल हराएको छ ।
यी सबै मोटरसाइकल तथा स्कुटर हराई खोजीका लागि इलाका प्रहरी कार्यालय धरानमा निवेदन परेको छ । यी त धरानमा फागुन महिनामा हराएका प्रतिनिधिमूलक मोटरसाइकल तथा स्कुटर मात्रै हुन् । फागुन महिनामा मात्रै २० वटा मोटरसाइकल तथा स्कुटर हराएर इलाका प्रहरी कार्यालय धरानमा खोजीका लागि निवेदन परेको छ ।
इलाका प्रहरी कार्यालय धरानका इन्स्पेक्टर हेमराज ओली कतिपय हराएर पनि निवेदन नपर्ने र आफै खोजी गरी फेला पारेको पनि कार्यालयमा जानकारी नगराउने गरेको बताउँछन् । इलाका प्रहरी कार्यालय धरानको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको ९ महिनामा मात्रै ७५ वटा सवारी साधन चोरी भएका छन् ।
जसमध्ये ७ वटा स्कुटर, एउटा मारुती भ्यान र अन्य मोेटरसाइकल रहेका छन् । धरानमा औषतमा प्रति महिना ८–९ वटा यातायातका साधन हराउने गरेका छन् । तीमध्ये हालसम्म ३ वटा स्कुटर र ६ वटा मोटरसाइकल फेला पारेको इलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ । धरानमा सुरक्षा चुनौती वृद्धि भएको राजनीतिक दलहरू पनि बताउँछन् । माओवादी केन्द्र धरानका अध्यक्ष सूर्यबहादुर भट्टराई (मनोज) ले मोटरसाइकल तथा स्कुटर हराउने दर वृद्धि हुनुमा मुख्य ३ वटा पक्ष रहेको बताए ।
उनले बेरोजगारी समस्या, आर्थिक अभाव र कमजोर सुरक्षाले चोरीको दर वृद्धि भएको बताए । उनले भने, ‘मुख्य सुरक्षा चुनौती नै हो ।’ उनले चोरीका घटना वृद्धि हुनुमा स्थानीय सरकारको पनि कमजोरी रहेको बताए । उनले भने, ‘चोरी नियन्त्रण गर्न सुरक्षा व्यवस्थापन गर्नुपर्यो । स्थानीय सरकारले सबै स्थानमा सिसी टिभी व्यवस्था गर्नुपर्यो । सरकारले बेरोजगारी समस्या हल गर्नुपर्यो ।’ नेपाली काङ्ग्रेस धरानका सभापति श्याम पोखरेलले सुरक्षा संयन्त्रको कमजोरी र खुल्ला नाकाको कारणले चोरीको दर वृद्धि भएको बताए । उनले भने, ‘प्रहरीकै बाइक हरायो भन्ने सुन्छु । सुरक्षा व्यवस्थापनमा कडाइ गर्नुपर्यो ।’
उनले २०७४ सालको स्थानीय निर्वाचनमा सबै राजनीतिक दलका नारा स्मार्ट सिटी भएको बताउँदै भने, ‘सबै स्थानमा सिसी टिभी नहुनु पनि हो ।’ उनले स्थानीय सरकार र नागरिक आफै सचेत भएमा चोरी नियन्त्रण हुने बताए । साथै सवारीसाधन चोरी गर्नेलाई कडा कारबाही गर्नुपर्ने उनको भनाइ छ । एमाले धरानका अध्यक्ष हर्क एभेङले प्रशासनको व्यवस्थापकीय कमजोरीले चोरी नियन्त्रणबाहिर गएको बताए । उनले भने, ‘सुुरक्षा निकायकै अगाडिबाट चोरी भएको देखिन्छ । सरकारले सुरक्षा संयन्त्र परिचालन गर्न सकेको छैन ।’
इलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवर पनि सुरक्षा चुनौती बढेको विषयमा सहमत छन् । उनी भन्छन्, ‘सुरक्षा चुनौती बढेको हो । तर, नियन्त्रणमा लागेका छौँ ।’ उनले मोटरसाइकल, स्कुटर चोरी गर्नेलाई पक्राउ गरी कारबाही गर्ने र मुद्दा चलाउने पनि गरेको बताए । उनले भने, ‘धरानमा पार्किङस्थल व्यवस्थित छैन । बाटामा पार्किङ गर्छन् । त्यसैले चोरीको घटना वृद्धि भयो ।’ उनले नियन्त्रणका लागि नियमित चेकजाँच गर्ने बताउँदै भने, ‘विशेषरूपमा कार्यक्रम सञ्चालन (रेन्डम अप्रेशन) गरिरहेका छौँ ।’