धरान । मेघा कलेजले ‘धरान मेघा रेवाहाङ मेमोरियल अन्तर विद्यालय बास्केटबल’ प्रतियोगिताको उपाधि जितेको छ ।
धरानको एम्स एकेडेमीलाई ४८–३० अंकले हराउँदै आयोजक मेघा कलेजले उपाधि जितेको हो । उपाधिसँगै मेघाले नगद १५ हजार रुपैयाँसहित ट्रफी जितेको छ । उपविजेता बनेको एम्सले नगद ७ हजार ५ सय रुपैयाँ जितेको छ । प्रतियोगितामा मेघाले प्रत्येक क्वार्टरमा ८–४, १४–६ र १४–५, १२–१५ अंक ल्याएको थियो ।
कार्यक्रममा विजेता टिमलाई प्रदेश १ मुख्यमन्त्री राजेन्द्रकुमार राई, धरान मेघा कलेजका अध्यक्ष कैलाश लिम्बू, नेपाल बास्केटबल संघका केन्द्रीय उपाध्यक्ष सुरजकुमार लामालगायतले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा उत्कृष्ट खेलाडी मेघाका योगेश राई घोषित हुँदै नगद एक हजार ५ सय रुपैयाँ, ट्रफी पाए । प्रतियोगिताका अवधिभर व्यक्तिगत ५९ अंक जोडेका सियोन स्कुलका साहिल तामाङ सर्वाधिक अंक प्राप्त गर्ने खेलाडी बने । उनले नगद एक हजार रुपैयाँ, ट्रफी पाए । उदयिमान खेलाडीको उपाधि सियोन स्कुलका पारुहाङ राई घोषित भए ।
दिवंगत बास्केटबल खेलाडी रेवाहाङ राईको स्मृतिमा उनका मातापिताले अक्षयकोष खडा गरेपछि प्रतियोगिता सुरु गरिएको हो । चैत १५ गतेदेखि प्रतियोगिता सुरु गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि मुख्यमन्त्री राजेन्द्रकुमार राईले सरकारले खेलकुद बोर्ड गठन गरी सबै खेलको विकासमा ध्यान दिने तयारी रहेको बताए । उनले यस प्रतियोगिताका लागि पनि सरकारले सक्दो सहयोग गर्ने प्रतिवद्धता गरे ।