विजयपुर । धरानका अव्यवस्थित तथा सुकुम्बासीहरूले लालपुर्जा नदिए ‘नो भोट’ भन्दै आन्दोलन थालेका छन् ।
आइतबार धरानस्थित छाताचोकबाट भानुचोकसम्म ‘नो लालपुर्जा, नो भोट’ भन्दै प्रदर्शन गरे । सयौंको सङ्ख्यामा भेला भएका सुकुम्बासीहरूले राजनीतिक दलका नेताहरूले लालपुर्जा दिने भन्दै भोट मागे पनि अहिलेसम्म झुक्याउँदै आएकाले यसपटक त्यो स्थिति सिर्जना हुन नदिने बताए ।
सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेसँगै सुकुम्बासीहरूको पनि चहल–पहल सुरु भएको हो । नेपाल बसोबास बस्ती संरक्षणको अगुवाइमा भएको र्यालीमा विभिन्न सुकुम्बासी सङ्घ–संस्थाहरूको सहभागिता रहेको थियो । उनीहरूले निर्वाचन अगावै लालपुर्जा वितरण नगरे भोट नहाल्ने बताएका छन् ।
‘नो लालपुर्जा, नो भोट’, ‘आफ्नो लागि आफै अघि बढाैं, अलमलमा नपरौँ’, ‘लालपुर्जा प्राप्तिको महाअभियानमा सबैले हातेमालो गरौं’ ‘नेपाल बसोबासको अभियान सुकुम्बासीमुक्त राष्ट्र निर्माण गरौैँ’ लगायत लेखिएको ब्यानर तथा प्ले–कार्ड बोकेका थिए । साथै ‘समानताको स्वतन्त्र महाअभियान’ ‘मरे चिहान बाँचे घर, एकता नै हाम्रो बल’ लगायतका प्ले–कार्ड पनि बोकेको थिए, उनीहरू एउटै उद्देश्य लालपुर्जा नपाए मतदान नगर्ने रहेको छ ।
फागुन १५ धरान उपमहानगर प्रमुख तिलक राईको सक्रियता जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख इन्द्रदेव यादवसहितका सर्वदलीय सर्वपक्षीय बैठकले २०७२ यता बसोबास गरेको सुकुम्बासी बस्ती उठाउने निर्णय पनि खारेज हुनुपर्ने माग गरेका छन् ।
उनीहरूले उपमहानगर प्रमुख तिलक राईलाई ज्ञापन–पत्र बुझाएका छन् । ज्ञापन–पत्र बुझाउने क्रममा सुकुम्बासीलाई लालपुर्जा वितरण नगरेमा यसपटक भोटसमेत नदिने उद्घोष गरिएको समाजका केन्द्रीय अध्यक्ष कुमार कार्कीले बताए ।
यता नगर प्रमुख राईले सुकुम्बासी समस्या निरन्तर आइरहेकाले त्यस्ता समस्यालाई निराकरण गर्नका लागि स्थानीय सरकार लागिपरेको बताए ।
उनले भने, ‘२०७२ सालभन्दा अगाडिको लगत सङ्कलनमा जे जति हुनुहुन्छ, उहाँहरूलाई समेटेर जाने भन्ने हो । समस्या थपिरह्यौं भने समाधान हुँदैन । नयाँ घरजग्गा बस्ने क्रम जारी छ । यसले कहिले पनि समाधान हुँदैन ।’ उनले भूमिहीन समस्या संयुक्त रूपमा समाधान गर्नुपर्ने भएकाले सबै एक पक्ष भएर समाधानमा लाग्न आग्रह गरे ।