धरान/ मनाङ मस्र्याङ्ग्दी क्लब सुनसरीको इटहरी गोल्डकपको अन्तिम चारमा प्रवेश गरेको छ ।
बाह्रौं अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपमा आइतबार सम्पन्न खेलमा मनाङले पाहुना टोली भारतको कञ्चनजङ्गा फुटबल क्लबलाई २–० को सहज जित निकाल्दै अन्तिम चारमा स्थान बनाएको हो ।
जितका लागि मनाङका अफिज ओलावलेले व्यक्तिगत दुई गोल गरे । खेलको १६ औं मिनेटमा खाता खोलेका उनले ७८ औं मिनेटमा अग्रता दोब्बर बनाए ।
खेलको म्यान अफ दी म्याच मनाङका ओलावले घोषित हुँदै नगद १० हजार रुपैयाँ पाए । मनाङले हालै दमक गोल्डकपको उपाधि उचालेको छ ।
सोमबार रोलिङ क्लब झापा र अफ्रिकन टिम एभिनियर फुटबल क्लब क्यामरुनबीच हुने आयोजक राष्ट्रिय जागृति क्लब इटहरीले जनाएको छ । उद्घाटन खेलमा विभागीय टिम त्रिभुवन आर्मीले आयोजक राष्ट्रिय जागृति क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाइसकेको छ । यता आर्मीले भने झापा गोल्डकपको उपाधि जितिसकेको छ ।
दुई विदेशीसहित ८ वटा टिम प्रतिस्पर्धामा छन् । चैत २६ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ७ लाख रुपैयाँ र उपविजेताले नगद तीन लाख ५० हजार रुपैयाँसहित ट्रफी पाउने क्लबले जनाएको छ । प्रतियोगिता इटहरी रङ्गशालामा जारी छ ।